सप्तकोसी बैङ्कमा हिनामिना प्रकरणः सिइओ नवीन सुवेदीसहित १२ जनाविरुद्ध मुद्दा दर्ता  

 

 

विराटनगर  सप्तकोसी डेभलपमेन्ट बैङ्क विराटनगरस्थित कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा बैङ्कका तत्कालीन सिइओ नवीन सुवेदीसहित १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मङ्गलबार ‘बैङ्किङ कसुर’ मुद्दामा सुवेदीसहित १२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । सरकारी वकिलको कार्यालयले सुवेदीसहित ९ जना कर्मचारी र तीन जना खातावालालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ अनुसार हिमाल भट्टराईसहित १२ जनाविरुद्ध उच्च अदालतको वाणिज्य इजलासमा मुद्दा दर्ता भएको हो ।  सप्तकोसी बैङ्कको अपचलन भएको १५ करोड ७५ लाख र ५ सय ७५ रुपैयाँ बैङ्कलाई भराइदिनुपर्ने सोही बराबर प्रतिवादीलाई जरिबाना  तथा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको जिल्ला न्यायाधीवक्ता काफ्लेले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले बैङ्कका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होमप्रसाद पौडेलसहित फरार रहेकाहरू बैङ्कका कार्यालय सहयोगी चूडाबहादुर निरौला, बैङ्कका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैङ्कको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईविरुद्ध मुद्दा दर्ता भएको छ ।

उच्च अदालत विराटनगरका सुपरिटेन्डेन्ट तथा सूचना अधिकारी ओमराज सुवेदीले बैङ्किङ कसुरमा मुद्दा दर्ता भएकोले बुधबारको इजलासमा प्रतिवादीको बयान सुरु हुने र बयान सकिए सोही दिन थुनछेक बहस हुने जानकारी दिए ।

बैङ्कको रकम अपचलन भएकोमध्ये तत्कालीन सिइओ सुवेदीले पदीय जिम्मेवारी दुरुपयोग गर्दै फुपूदिदी नाता पर्ने झापा दमक नगरपालिका–१३ घर भएकी ४३ वर्षीया बबिता बस्नेतको खाताबाट फरक–फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ झिकेर हिनामिना गरेको खुलेको छ ।

अपचलन गरेको रकममध्ये रेमिट खाताको सन् २०१६ अगष्ट ७ तारिखदेखि बबिता बस्नेतको ९९९०००१५००१५ नं. खाताबाट १४ करोड ५ लाख २१ हजार ३ सय ६५ रुपैयाँ र खर्च खाताबाट सन् २०१६ अप्रिल २२ तारिखदेखि १ लाख ७२ हजार ३ सय ७० रुपैयाँ गरी ६ वर्षमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ अपचलन गरेको मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

घोटाला भएको जम्मा रकममध्ये रेमिट शीर्षकबाट १५ करोड ६९ लाख ७७ हजार ९ सय ७७ रुपैयाँ र खर्च शीर्षकबाट ५ लाख ६२ हजार ५ सय ९८ रुपैयाँ अपचलन २०७२ सालदेखि २०७८ मङ्सिरसम्म गरेको देखिएको छ ।

बैङ्कबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपलचन भएको रकम बैङ्कका कर्मचारीसहित ६ जनाको खाताबाट भएको देखिएको छ । सुवेदीको नाता पर्ने बबिता बस्नेत, बैङ्कका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई,  अपरेसन प्रमुख अमित थापा मगर, कमल दाहाल, मनोज भट्टराई र चूडाबहादुर निरौलाको नामको खाताबाट रकम अपचलन गरेको देखिएको छ ।

सिइओ सुवेदीको नातामा भान्जा पर्ने हिमाल भट्टराईले विभिन्न मितिमा चार पटक रकम झिकेको देखिएको छ । भट्टाराईले ९९९००००६४४०११ नं. खाताबाट सन् २०२१ अक्टोबर २६ तारिखमा ७७ लाख ९७ हजार ८ सय ८० रुपैयाँ,  २०१८ अप्रिल १ मा १९ लाख ३१ हजार १ सय ६९ र २०१६ मार्च २७ गते ४२ हजार ५ सय रुपैयाँ रेमिट र खर्च खाताबाट रकम झिकेको देखिएको छ ।

यसैगरी कमल दाहाल र मनोज भट्टराईको नामको खाताबाट विभिन्न मितिमा २–२ पटक रकम झिकेको देखिएको छ । कमल दाहालको रेमिट खाताबाट २०१६ अगष्ट १ तारिखमा  २ लाख ६० हजार, २०१६ मार्च ३० तारिखमा खर्च खाताबाट १ लाख १३ हजार ६ सय ८० रुपैयाँ झिकेका छन् ।

यस्तै मनोज भट्टराईको खाताबाट २०१६ अक्टोबर ६ तारिखमा रेमिट खाताबाट ३३ लाख ८१ हजार ६३ र खर्च खाताबाट सोही मितिमा १ लाख ९३ हजार ४८ रुपैयाँ अपचलन भएको देखिएको छ ।

बैङ्कका अपरेसन प्रमुख अमित थापा मगरको रेमिट खाताबाट २०१६ नोभेम्बर ३ तारिखमा ३ लाख ८६ हजार ५ सय रुपैयाँ हिनामिना भएको छ । यस्तै चूडाबहादुर निरौलाको खर्च खाताबाट २०१६ मार्च २१ तारिखमा ४१ हजार रुपैयाँ झिकेको देखिएको छ । प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोसी बैङ्कको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ ।

साविकको काबेली विकास बैङ्क र सप्तकोसी डेभलपमेन्ट बैङ्क मर्जरमा गएर हाल सप्तकोसी डेभलपमेन्ट बैङ्क लि. नामबाट वित्तीय कारोबार गरिरहेको यो बैङ्क नेपाल राष्ट्र बैङ्कबाट इजाजतप्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो ।

 

Share: