काठमाण्डौ,२२ असोज। नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४२ पुगेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार ७ दिनमा मात्रै १ सय ९० नयाँ सङ्क्रमित थपिएको देखीएका छन् ।
अहिलेसम्म ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको हो । पछिल्लो एक हप्तामा सबैभन्दा धेरै सङ्क्रमित बागमती प्रदेशमा ९४ जना जनालाई भेटिएका छन् । लुम्बिनीमा ३९, गण्डकीमा १५, सुदूरपश्चिममा २१, कोशीमा ९, मधेशमा ४ र कर्णालीमा ८ जना नयाँ सङ्क्रमित फेला परेका महाशाखाले बताएको छ ।
सङ्क्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ३ सय ५६ जना रहेको छन् । बागमतीमा १ हजार ३ सय १४, लुम्बिनीमा ९ सय ७३, कोशीमा ७ सय ८५, सुदूरपश्चिममा ६ सय ६७, मधेशमा १ सय १९ र कर्णालीमा ३ सय २८ जना सङ्क्रमित रहेको छ।
गएको पुसदेखि हिजो असोज २१ गतेसम्म डेङ्गीका कारण ३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । डेङ्गी सङ्क्रमण बढ्दै गएपछि मन्त्रालयले लामखुट्टे नियन्त्रण र स्वच्छता अभियानलाई तीव्र पार्न आग्रह गर्दै सतर्क रहन सबैमा आग्रह गर्दै आएको छ । डोल्पा र मनाङमा भने डेङ्गी सङ्क्रमण अझै देखिएको छैन ।









