पोखरा,१६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जहाँतहीँ मुद्दा हाल्ने र व्यक्तिलाई दुःख दिने काम लोकतान्त्रिक चरित्र नभएको बताँउनु भएको छ।
बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले आफूविरुद्ध पूर्ववर्ती सरकारले प्रतिशोध साँधेको जिकिर गर्नु भएको छ। ‘जताततै मुद्दा हाल्ने, कतै पनि झुन्ड्याउने यस्ता चिजहरू लोकतन्त्रले गर्दैन,’ लामिछानेले भन्नु भयो, ‘यो लोकतन्त्रले गरेको होइन।’ लामिछाने सहकारी ठगी सम्बन्धी मुद्दामा तारिख बुझ्नका लागि बुधबार नै पोखरा पुग्नु भएको थियो ।
सभापति लामिछानेले आफ्नो पार्टीको सामथ्र्य पुगेपछि पहिलो प्राथमिकता अहिलेकै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाभित्र रहेर सुशासन कायम गर्नु हुने बताँउनु भयो। उहाँले अहिले राज्यका विभिन्न निकायहरूलाई पार्टीको भर्ती केन्द्र बनाइएको र सुशासनको पक्ष कमजोर रहेको भन्दै पहिला यसलाई सुधार्नुपर्नेमा जोड दिनु भयो।
‘हाम्रो सामथ्र्य पुगेपछि गर्ने भनेको सबैभन्दा पहिलो चिज यही व्यवस्थाभित्र यसलाई बदनाम गराउने कुराहरू र कुशासनका कुराहरू सुधार्ने हो,’ उहाँले थप्नु भयो, ‘प्राथमिकता मलाई सोध्नुहुन्छ भने अवस्था परिवर्तन पहिलो प्राथमिकता हो ।’
शासकीय स्वरूप र संविधान संशोधनको विषयमा भने उहाँले ‘नेक्स्ट स्टेप’ मा बृहत् संवाद आवश्यक रहेको औँल्याउनु भयो। संविधानमा रहेका कमी–कमजोरीहरूलाई आवश्यकता र अनुभवका आधारमा सुधार गर्दै लैजान सकिने उहाँको भनाइ छ। उहाँले शासकीय स्वरूपबारे पार्टीको आफ्नै धारणा भए पनि अहिलेको मुख्य जोड नागरिकको अवस्था परिवर्तनमै रहेको स्पष्ट पार्नु भयो ।









