दमक,१७ पुस । भरत चौलागाईं नाम मात्रै होइन, दमकको व्यवसायिक यात्रामा आफैंमा एउटा पहिचान हो । २०३३ साल साउन ५ गते, पाँचथरको दुर्दिम्मामा जन्मिएका भरत चौलागाईं २०४८ सालमा दमक झरे। क्याम्पस अध्ययनसँगै जीवनलाई व्यवहारिक बनाउने संघर्ष सुरु भयो। बुबा लक्ष्मी प्रसाद चौलागाईं र आमा चन्द्रकला चौलागाईंले दिएको इमान, श्रम र अनुशासनको संस्कार आज पनि उहाँको निर्णय र नेतृत्वमा देखिन्छ।
२०५० सालमा दमक–८ मा सानो किराना पसलबाट सुरु भएको व्यवसायिक यात्रा सजिलो थिएन। तर यही पसल उहाँको सोच, धैर्य र आत्मविश्वासको प्रयोगशाला बन्यो। समयसँगै उहाँ केवल व्यापारी रहनु भएन, बजार बुझ्ने, जोखिम आँकलन गर्ने र सही समयमा सही निर्णय लिने व्यवसायिक नेतृत्वका रूपमा स्थापित हुँदै जानुभयो। २०६७ सालपछि अण्डा उत्पादनतर्फ प्रवेश गर्नु भएको उहाँलाई उत्पादन, आपूर्ति र बजार व्यवस्थापनको गहिरो अनुभवले व्यवसायिक रुपमा अझ परिपक्व बनायो। अहिलेपनि अण्डा सहित स्टेसनरी, लिकर्स र जुस वितरणजस्ता विविध क्षेत्रको व्यवसायमा हात हाल्नु केवल व्यापार विस्तार होइन, बजारको नाडी समात्ने क्षमताको प्रमाण हो।
भरत चौलागाईं जहाँ पुगे, त्यहाँ नेतृत्व स्वाभाविक रूपमा उहाँतिर आयो। सन् २०२०–२१ सालमा रोटरी क्लबको अध्यक्ष। अहिले अण्डा उत्पादक संघको जिल्ला अध्यक्ष। मदिरा व्यवसायी संघको दुई कार्यकाल नेतृत्वको अनुभव । अनी दमक लखनपुर भेटरान क्लबको दुई कार्यकाल अध्यक्ष भइसक्नु भएका चम्लागाईलाई यी पद केवल जिम्मेवारी मात्रै थिएनन्। यी थिए निर्णय लिने, विवाद समाधान गर्ने, दबाबमा पनि अडिग भएर बोल्ने र सबैलाई एउटै दिशामा डो¥याउने अभ्यासपनि थियो ।
भरत चौलागाईंको नेतृत्वको विशेषता स्पष्ट छ। उहाँ कुरा घुमाउनुहुन्न। गलतलाई गलत र सहीलाई सही भन्न हिच्किचाउनुहुन्न। जहाँ समस्या छ, त्यहीँ उभिएर समाधान खोज्नु उहाँको शैली हो। यही पुष १८ गते दमक उद्योग वाणिज्य संघको निर्वाचनमा उहाँ अध्यक्ष पदका उम्मेदवारका रूपमा अघि बढ्दै हुनुहुन्छ। यो उम्मेदवारी पदको आकांक्षा होइन। यो अनुभव, अडान र निर्णय क्षमताको जिम्मेवारी हो।
व्यापारीलाई अहिले अन्योल होइन, दिशा चाहिएको छ —नारा होइन, व्यवहारिक निर्णय चाहिएको छ —डर होइन, दृढ नेतृत्व चाहिएको छ—र भरत चौलागाईं, तीनै व्यापारीको एक स्पष्ट आवाज, एक अडिग निर्णयकर्ता, र दमकको व्यवसायिक भविष्यका लागि भरोसायोग्य नेतृत्व बन्नु हुने छ ।









