काठमाडौँ,१८ पुस । सरकारले अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ । गत भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रियसभा र प्रदेश संरचना खारेज गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नुपर्नेलगायत पाँच बुँदे माग राख्दै १० दिनदेखि अनसन बस्दै आउनुभएका डा. भुसालसँग वार्ता गर्न सरकारले शुक्रबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
वार्ता समितिको सदस्यमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल रहनु भएको छ ।
माइतीघर मण्डलामा अनशन बस्दै आँउनु भएका डा. भुसालको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ ।









