काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको उच्च शिक्षालाई मार्गदर्शन गर्न यथाशिघ्र उच्च शिक्षासम्बन्धी ऐन ल्याउनुपर्ने बताएका छन् । उनले भएका विश्वविद्यालयको अवस्था अस्तव्यस्त बन्दै गर्दा नयाँ–नयाँ विश्वविद्यालय खोल्ने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको १२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले मुलुकमा ठूलो राजनीतिक परिवर्तनहरू भइसकेपछि अब शिक्षा स्वास्थ्य जस्ता विषय नै महत्त्वपूर्ण मुद्दा बन्नुपर्ने बताए ।
‘उच्च शिक्षा कसरी सञ्चालन गर्ने ? यसमा लगानी कसले गर्ने ? यो एउटा महत्त्वपूर्ण बहसको विषय हो । यसमा संघको जिम्मेवारी के हो ? प्रदेशको जिम्मेवारी के हो ? भएका विश्वविद्यालय कसरी सञ्चालन गर्ने ? नयाँ विश्वविद्यालय खोल्ने कि नखोल्ने ? यसको व्यवस्थापन कसरी गर्ने ? भन्ने बहस नगरी विश्वविद्यालय थप्नेमात्रै निर्णय गरेर हुदैन,’ उनले भने ।
महामन्त्री थापाले सरकारले विश्वविद्यालय स्थापना र घोषणामै मात्र चासाे दिएर नपुग्ने बताए । ‘अहिले संघीय सरकार विश्वविद्यालयको स्थापना र घोषणामा उद्दत छ । प्रदेश सरकारले पनि विश्वविद्यालय खोल्दैछन्, यसरी सबैले आ–आफ्नै ढंगले अघि बढ्ने हो भने हामी कहाँ पुग्छौँ ?,’ उनले भने ।
उनले सरकारले नयाँ विश्वविद्यालय खोल्दै गर्दा पूराना विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनको विषयमा समेत ध्यान पुर्याउनुपर्ने बताए ।
‘त्रिभुवन विश्वविद्यालयमा नेपालका सबै विश्वविद्यालयको माउ हो, यो कुनै एउटा दलको मात्रै हुनै सक्दैन । यो विषयमा सबै प्रस्ट र एक ठाउँमा भएर अघि बढाउनुपर्ने हुन्छ,’ उनले भने, ‘विश्वविद्यालय शिक्षालाई अस्तव्यस्त बन्न दिनु हुँदैन ।’