काठमाडौं,२६ जेठ । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका छन् । त्यो भन्दापनि नेपालमा विश्वकप सहभागि देशका खेलाडीहरुले प्रयोग गर्ने जर्सी र खेल सामग्रीहरुको व्यापार चम्किएको छ । ठूला–साना सहरका पसलहरुमा जर्सी र खेल सामग्री खरिद गर्नेहरुको भीड देख्न सकिन्छ । विशेषगरी काठमाडौं उपत्यकाको न्यूरोड, महावौद्ध, असन, लगनखेल क्षेत्रमा जर्सी खरिद गर्नेहरुको भीड बढेको छ । आफूले समर्थन गरेको टीमले प्रयोग गर्ने जर्सी खरिदका लागि फुटवलप्रेमीहरु पसलमा भेटिने गरेका छन् ।
फिफा विश्वकप फुटबलको २३औं संस्करण २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ । तीन देशले आयोजना गर्न लागेको यस प्रतियोगितामा ३९ दिनसम्म रोमाञ्चक भिडन्त हुनेभएको छ । उत्तर अमेरिकी देशमा प्रतियोगिता हुनेभएपनि नेपालमा यसको रौनक दिनहुँ बढिरहेको छ । काठमाडौँ न्यूरोडस्थित हिमालयन अक्स स्पोर्टलगायतका पसलहरूमा फुटवल समर्थकहरुले आफ्नो टीमको जर्सी खरिदमा व्यस्त देखिन्थे ।
पसलमा भेटिएका सरोज राई अर्जेन्टिनाका समर्थक हुनुन्छ । जर्सी र अन्य सामग्री खरिद गरिरहनु भएको उहाँले विश्वकप सुरु हुन लागेकोमा बढी उत्साहित हुनुन्छ । उहाँ साथीभाइसँग जम्मा भएर ठूलो पर्दामा वा आवश्यकता अनुसार मोबाइलमै भए पनि फुटबलको मजा लिने सोचमा रहेको सुनाउँनु हुन्छ। अर्का अनिल प्रधान सानैदेखि फुटबल खेलका पारखी हुनुन्छ । प्रधान विश्वकप हेर्न आतुर हुनुन्छ। सबै टीमलाई सम्मान गर्ने उहाँ, कुनै दिन नेपाल पनि विश्वकपमा पुगेको हेर्न चाहनु हुन्छ।
यस्ता ठूला प्रतियोगिताले बालबालिकाहरूलाई खेलकुदबारे बुझ्न र सिक्न थप ऊर्जा र प्रेरणा दिने उहाँको बुझाइ छ । न्यूरोडको हिमालयन अक्स स्पोट्र्समा जर्सी र खेलकुद सामग्रीको व्यापक माग बढेको पनि पसल संचालनको भनाइ छ । विगत एक हप्तादेखि पसलमा जर्सी र खेलकुद सामग्री किन्न आउनेहरूको चहलपहल निकै बढेको सञ्चालक महेन्द्र अधिकारीले बताउनु भयो । पसल सञ्चालक अधिकारीका अनुसार अहिले बजारमा सबैभन्दा बढी माग पोर्चुगल र अर्जेन्टिनाको जर्सीको छ । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीका फ्यानहरूका कारण बालबालिकादेखि वयस्कसम्मले यी देशका जर्सी बढी रुचाइरहेका छन् । पोर्चुगलका कतिपय जर्सीहरू त स्टक सकिने अवस्थामा पुगेका छन् ।
यसबाहेक स्पेन र ब्राजिल (विशेष गरी ब्राजिलको कालो अवे जर्सी) को पनि राम्रो माग छ । काठमाडौँकै होलसेल बजारबाट कलेक्सन गरेर सामान ल्याइने हुनाले ग्राहकको माग धान्न हरसम्भव प्रयास भइरहेको उहाँले बताउनु भयो। उहाँले खेलकुदका सामग्री किन्न पुरुषहरू मात्र नभएर महिला ग्राहकहरू पनि उत्तिकै संख्यामा आउने गरेको बताउनु भयो । यहाँ बच्चादेखि ठूलासम्मका लागि रु. ७०० देखि रु. २२०० सम्मका विभिन्न रेन्ज र क्वालिटीका जर्सीहरू उपलब्ध छन् । आफ्नो बजेट अनुसार सामान पाइने भएकाले ग्राहकहरू खुसी भएर फर्कने गरेका छन् । खेलप्रेमीहरूका लागि विश्वकपको माहोल एउटा ‘कुम्भ मेला’ वा दशैँजस्तै बनेको छ, जहाँ फुटबल नहेर्नेहरू पनि रमाइलोका लागि जर्सी किन्न पसल धाइरहेका छन् । अन्तर्राष्ट्रिय खेलहरू, ओलम्पिक वा ठूला क्लब म्याचहरू सुरु भएपछि खेलकुद सामग्रीको बिक्री ह्वात्तै बढ्छ । फुटबलबाहेक नेपालमा क्रिकेटको क्रेज पनि निकै ठुलो छ ।
नेपालको राष्ट्रिय क्रिकेट टोलीको जर्सी त सिजन होस् या अफ–सिजन, विदेश जाने नेपालीहरूले सधैँ लैजाने गर्छन् । हिमालयन अक्स स्पोट्र्सले जर्सीका साथै होम जिमका सामानहरू (डम्बेल, बल) र ब्याडमिन्टनका एसेसरिजहरू पनि बिक्री गर्दै आएको छ । अधिकारी भन्छन्,‘ग्राहकको सन्तुष्टि नै हाम्रो मुख्य व्यापार हो ।’ काठमाडौंमा मात्र होइन देशभरका खेलकुद सामग्री पाइने ‘स्पोर्टस सेन्टर’हरुमा जर्सीको व्यापार चम्किएको छ । उद्घाटन खेल सुरुहुनु दुई दिनअघि जर्सी पसलदेखि चिया पसल र रेस्टुरेन्टदेखि ठूलो होटलहरुमा समेत प्रतियोगिता लक्षित योजना र गफले माहोल तताएको छ ।
विश्वकप फुटवलको अघिल्ला संस्करणमा ३२ टोली सहभागी हुने गरेकोमा यस पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । प्ले–अफका खेलहरू सकिएसँगै सहभागी सबै ४८ देशको टुंगो लागिसकेको छ । सहभागी टोलीलाई ४–४ टोली रहने गरी १२ वटा समूहमा (समूह ’ए’ देखि ’एल’ सम्म) विभाजन गरिएको छ । टोली संख्या बढेसँगै नकआउटमा ’राउन्ड अफ ३२’ को नयाँ चरण थपिएको छ । समूह चरणका ७२ खेल र नकआउट चरणसहित यस विश्वकपमा कुल १०४ खेल हुनेछन् ।
अघिल्लो २०२२ को विश्वकपको तुलनामा फिफाले यसपटक पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गर्दै कुल ६५ करोड ५० लाख अमेरिकी डलर पु¥याएको छ । प्रतियोगिताको उपाधि जित्ने टोलीले इतिहासकै सर्वाधिक ५ करोड अमेरिकी डलर (करिब रु. ७ अर्बभन्दा बढी) प्राप्त गर्नेछ ।









