क्यान्सर— यो शब्द सुन्नासाथ धेरै मानिसको मनमा डर, चिन्ता र अनिश्चितताको बादल मडारिन थाल्छ। उपचारको कठिन यात्रा पार गरिसकेपछि धेरैले अर्को एउटा महत्त्वपूर्ण प्रश्नसँग सामना गर्नुपर्छ— “अब म आमा वा बुबा बन्न सक्छु कि सक्दिनँ?“
समाजमा यस विषयमा खुलेर कुरा कम हुने भएकाले धेरै मानिसहरू भ्रम, डर र मानसिक तनावमा बाँचिरहेका छन्। तर चिकित्सा विज्ञान र विशेषज्ञ चिकित्सकहरूको भनाइले आशाको ढोका खुला राखेको छ।
सुखद खबर के छ भने, धेरैजसो अवस्थामा क्यान्सरलाई पराजित गरेका व्यक्तिहरूले भविष्यमा स्वस्थ बच्चा जन्माउन सक्छन् र पूर्ण पारिवारिक जीवन बिताउन सक्छन्।
तर यसको अर्थ सबैका लागि एउटै अवस्था हुन्छ भन्ने होइन। क्यान्सरको प्रकार, उपचारको प्रकृति, शरीरको अवस्था र प्रजनन अंगमा परेको प्रभावका आधारमा निर्णय फरक हुन सक्छ।
किमोथेरापी, रेडिएसन वा केही प्रकारका शल्यक्रियाले महिलाको अण्डासय तथा पुरुषको शुक्रकीट उत्पादनमा असर पु¥याउन सक्छ। कतिपय अवस्थामा यो असर अस्थायी हुन्छ भने केही अवस्थामा दीर्घकालीन पनि हुन सक्छ। त्यसैले उपचार सकिएलगत्तै गर्भधारण गर्ने सोच बनाउनु भन्दा पहिले विशेषज्ञ चिकित्सकसँग विस्तृत परामर्श लिनु अत्यन्त आवश्यक हुन्छ।
विशेषज्ञहरूका अनुसार क्यान्सर उपचार सम्पन्न भएपछि सामान्यतया केही वर्ष पर्खनु उचित मानिन्छ। यो अवधिमा शरीरले उपचारका प्रभावहरूबाट पुनः शक्ति प्राप्त गर्छ, औषधिको असर कम हुन्छ र क्यान्सर पुनः फर्किने सम्भावनाबारे पनि स्पष्ट मूल्याङ्कन गर्न सकिन्छ।
आजको आधुनिक चिकित्सा विज्ञानले क्यान्सरका बिरामीहरूलाई नयाँ आशा दिएको छ। उपचार सुरु हुनुअघि नै अण्डा, शुक्रकीट वा भ्रूण सुरक्षित राख्ने प्रविधि उपलब्ध भएकाले धेरै व्यक्तिहरूले भविष्यमा सन्तान प्राप्त गर्ने सम्भावना जोगाउन सफल भएका छन्।
यसैबीच, धेरै दम्पतीलाई अर्को एउटा डरले सताउने गर्छ— “मलाई क्यान्सर भएको थियो, मेरो बच्चालाई पनि हुन्छ कि?“
चिकित्सकहरू स्पष्ट रूपमा भन्छन्, धेरैजसो क्यान्सर वंशाणुगत हुँदैनन्। अर्थात् आमाबाबुमा क्यान्सर भएको भरमा बच्चामा पनि अनिवार्य रूपमा सर्ने भन्ने होइन। केही सीमित प्रकारका क्यान्सरमा मात्र वंशाणुगत जोखिम हुन सक्छ, जसको परीक्षण र परामर्श अहिले सहज रूपमा उपलब्ध छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने— क्यान्सर निको भएपछि सन्तान जन्माउने निर्णय भावनाले मात्र होइन, चिकित्सकीय मूल्याङ्कनका आधारमा लिनुपर्छ। सामाजिक सञ्जालका अपुष्ट सूचना, सुनेका कुरा वा हल्लाका भरमा स्वास्थ्यसँग सम्बन्धित यति संवेदनशील निर्णय लिनु जोखिमपूर्ण हुन सक्छ।
हरेक व्यक्तिको शरीर फरक हुन्छ, उपचार फरक हुन्छ र स्वास्थ्य अवस्था पनि फरक हुन्छ। त्यसैले आफ्नो क्यान्सर विशेषज्ञ (इलअययिनष्कत), स्त्री तथा प्रसूति रोग विशेषज्ञ (न्थलभअययिनष्कत) वा प्रजनन स्वास्थ्य विशेषज्ञसँग परामर्श गरेर मात्र योजना बनाउनु बुद्धिमानी हुन्छ।
क्यान्सर जीवनको अन्त्य होइन। यो एउटा कठिन परीक्षा हो, जसलाई साहस, उपचार र सकारात्मक सोचले जित्न सकिन्छ। क्यान्सरमाथि विजय हासिल गरेपछि पनि जीवनमा प्रेम, परिवार, मातृत्व र पितृत्वका सुन्दर सम्भावनाहरू जीवित रहन सक्छन्।
डर होइन, सही जानकारी रोजौँ। हल्ला होइन, विशेषज्ञको सल्लाह मानौँ। आशा नछोडौँ, किनकि क्यान्सरपछि पनि जीवनका सुन्दर सपनाहरू पूरा हुन सक्छन्।
स्वस्थ समाज निर्माणका लागि स्वास्थ्यसम्बन्धी सही जानकारी सबैसम्म पु¥याऔँ।









