काठमान्डौं, १३ साउन । प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार कर्जा प्रवाहमा भएको अनियमितताको आरोपमा पन्तलाई पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लगिएको छ।
रुपन्देहीमा रहेको एशियन भिलेज रिसोर्ट प्रालि लाई प्रभु बैंकले प्रवाह गरेको कर्जामा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो। उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै सीआईबीको हिरासतमा छन्।
प्रभु बैंकले एशियन भिलेज रिसोर्टलाई ४८ करोड रुपैयाँ कर्जा दिएको थियो। नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणपछि कर्जा प्रक्रियामा कैफियत देखिएको र त्यसकै आधारमा अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले जनाएको छ।









