जनकपुर,१४ साउन।जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार विज्ञप्ति जारी गर्दै दिउँसो ३:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु लगाइएको जानकारी दिएका हुन्।
प्रशासनका अनुसार जनकपुरका विभिन्न क्षेत्रलाई समेटेर कर्फ्यु क्षेत्र तोकिएको छ। उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक लक्ष्मीनिया गाउँपालिका–७ हुँदै पश्चिम सिनुरजोडा चोकसम्म, पूर्वतर्फ लक्ष्मीपुर बगेवासम्म, बेलौनी रोडस्थित एम.क्यू। स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्मको क्षेत्र समेटिएको छ।
त्यस्तै दक्षिणतर्फ नगराइन नगरपालिका हुँदै नगराइन चोकसम्म र पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल, बेला र कादरी मस्जिदसम्मको क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अर्को आदेश जारी नभएसम्म कर्फ्यु कायम रहने प्रशासनले जनाएको छ। कर्फ्यु अवधिमा उक्त क्षेत्रमा आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न रोक लगाइएको छ।









