काठमाडौं , असोज १०। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नसर्ने रोग (एनसीडी) को बढ्दो जोखिम न्यूनीकरणका लागि समुदायमै पुगेर स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।विश्व मुटु दिवस तथा सम्मान समारोहमा बोल्दै मुख्यमन्त्री थापाले समुदायमा आधारित एनसीडी स्क्रिनिङ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसके नसर्ने रोगको दर अझ बढ्दै जाने बताउनुभयो । उहाले अहिले ७१ प्रतिशत रहेको नसर्ने रोगको हिस्सा आगामी दिनमा ७२–७३ प्रतिशतसम्म पुग्न सक्ने भन्दै यसलाई घटाउन प्रदेश सरकारले समुदायमै स्वास्थ्यकर्मी परिचालन गर्ने कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो ।उहाले भन्नुभयो , ‘जब सम्म समुदायमा एनसीडी स्क्रिनिङका कार्यक्रम लिएर जान सक्दैनौँ, तबसम्म यो सङ्ख्या थपिँदै जान्छ । त्यसकारण यसपालि समुदायमै आधारित भएर स्वास्थ्यकर्मीमार्फत एनसीडी स्क्रिनिङका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौँ ।’
मुख्यमन्त्री थापाका अनुसार बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका प्रादेशिक अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गरिएपछि बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । उहाले ती अस्पतालमा दैनिक ८ हजारदेखि ८ हजार ५ सयसम्म बिरामी आउने गरेको र कतिपय दिनमा यो संख्या ९ हजारसम्म पुग्ने गरेको बताउनुभयो ।स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले लगानी बढाउँदै लगेका कारण सेवा विस्तार सम्भव भएको उहाले बताउनुभयो ।मुख्यमन्त्री थापाले दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भइरहेको बताउनुभयो । स्थानीय तहको समन्वय र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आयोजनामा विशिष्टीकृत एकीकृत स्वास्थ्य सेवा तथा पोषण प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको उहाले बताउनुभयो ।
मुख्यमन्त्री थापाले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन नसकेकोप्रति पनि ध्यानाकर्षण गराउनुभयो । उहाले विश्व स्वास्थ्य संगठनको मार्गदर्शनअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउनुपर्ने भए पनि बागमती प्रदेशमा चालु बजेटमा स्वास्थ्यका लागि ४.५ प्रतिशत मात्रै विनियोजन भएको बताउनुभयो ।उहाले भौतिक पूर्वाधारतर्फ भने ३४ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । ‘नागरिक स्वस्थ नभएसम्म देश समृद्धि र विकासतर्फ अगाडि बढ्न सक्दैन । स्वास्थ्यलाई प्राथमिकता दिएर बागमती प्रदेश सरकार अगाडि बढ्छ । स्वास्थ्य र शिक्षा दुईवटै क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाउनेछ,’ उहाले भन्नुभयो ।









