काजु र खुवाका नाममा बिस्कुटको धुलो : अनुगमनमा भेटियो उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलबाड

 काठमाडौं , १० असोज। चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्ने उपभोक्ताहरूको घुइँचो लाग्न थालेको छ ।उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा आकर्षक प्याकेटमा सजिएका मिठाई, पुष्टकारी, गुँदपाक लगायत हुने गर्छन् ।बालबालिकालाई खुसी पार्न चकलेट र बिस्कुट किन्ने अभिभावकदेखि भान्सामा मिठो परिकार बनाउन सुजी र राजमा किन्ने गृहिणीसम्म सबैको विश्वास बजारको त्यही चिल्लो प्याकेजिङमाथि छ ।तर, बाहिरबाट हेर्दा पौष्टिक र सफा देखिने ती प्याकेटभित्र व्यापारीले नाफाको लोभमा कतिसम्म ‘विष’ भरिरहेका छन् भन्ने डरलाग्दो तथ्य भर्खरै सरकारले गरेको बजार अनुगमन प्रतिवेदनले देखाउँछ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही ६ र ८ असोजमा गरेका बजार अनुगमन र त्यसपछि जारी गरेका सूचना केलाउने हो भने अहिले नेपाली बजार उपभोक्ताका लागि विष किन्ने थलो जस्तै बनेको छ ।हामीले पैसा तिरेर दैनिक उपभोग गर्ने चियापत्तीदेखि मिठाई र भान्सामा प्रयोग हुने सुजीसम्म खान अयोग्य, दूषित र मानव स्वास्थ्यका लागि प्राणघातक छन् । नाफा कमाउने होडमा व्यापारीले मानवीय संवेदना गुमाएर किरा परेका, म्याद गुज्रेका र कुहिएका कच्चापदार्थ प्रयोग गर्दै खुलेआम ‘मन्द विष’ बेचिरहेका छन् ।

काजु र खुवाको नाममा बिस्कुटको धुलो र किरा परेको चना

काठमाडौंको मुख्य नाका चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा सञ्चालित ‘श्री कृष्ण पुष्टकारी तथा गुँदपाक भण्डार’ मा खाद्य विभागले चन्द्रागिरि नगरपालिका, प्रहरी प्रभाग नैकाप र काठमाडौं महानगरपालिकासँगको समन्वयमा गरेको अनुगमनमा खाद्य वस्तुका नाममा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको र ठगेको भेटियो ।बाहिरबाट हेर्दा यो एउटा सामान्य र चलेको मिठाई उद्योगजस्तो लाग्छ । यसका उत्पादनका लेभलमा ठूला अक्षरमा लेखिएको हुन्छ– ‘मिश्रण : खुवा, चिनी, दूध, नरिवल, छोकडा, काजु, बदाम, तरबुज लगायत ।’तर, जब विभागको टोली उक्त उद्योगभित्र पस्यो, त्यहाँको दृश्यले लेभलमा लेखिएका काजु, खुवा र दूध त परको कुरा चिनीबाहेक कुनै पनि पौष्टिक कुरा पनि देखाएन ।त्यसोभए पुष्टकारी र गुँदपाक केबाट बन्दै थियो त ? अनुगमनका क्रममा उक्त उद्योगले म्याद नाघेको चिउरा, म्याद नाघेका चकलेट, खुला टुक्रा बिस्कुट, किरा परेको भुटेको चना र चनाको पिठो, स्किम मिल्क पाउडर, चामलको पिठो, किरा परेको बदाम र ओट्स लगायत अखाद्य वस्तु प्रयोग गरेर मिठाई बनाइरहेको रंगेहात फेला पर्‍यो ।म्याद नाघेर खान अयोग्य भइसकेका चकलेट तथा अन्य खाद्यवस्तुलाई पुन: अर्को लेभल राखेर रिप्याकेजिङ गर्दै बजारमा पठाउने तयारी भइरहेको थियो ।विभागले त्यहाँबाट मात्रै १८ किलो म्याद गुज्रेको चिउरा, २ सय १० किलो म्याद नाघेको चकलेट, १ सय किलो खुला टुक्रा बिस्कुट, २ सय २० किलो किरा परेको भुटेको चना, २ सय ७४ किलो चनाको पिठो र ७ किलो स्किम मिल्क पाउडर बरामद गरेको छ ।

यी सबै अखाद्य र फोहोर वस्तु हालेर तयार पारिएको करिब १ सय किलो गुँदपाक र ५ सय ३५ किलो पुष्टकारी गरी करिब २ लाख ६० हजार रुपैयाँ बराबरको तयारी खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ ।खाद्य ऐन बमोजिम अनुज्ञापत्र समेत नलिएको यस उद्योगलाई सिलबन्दी गरी थप अनुसन्धान अगाडि बढाइएको विभागले जानकारी दिएको छ ।त्यसैगरी ढुंगेअड्डामै रहेको अर्को उद्योग ‘बज्रबाराही भण्डार’ को अवस्था पनि उस्तै पाइयो । एउटै सानो कोठामा पुष्टकारीको प्रशोधन र प्याकेजिङ दुवै भइरहेको थियो ।उक्त उद्योगले पनि उत्पादन स्थलमा लेभलमा उल्लेख नै नभएका शंकास्पद कच्चा पदार्थ (चिउरा र मैदा) प्रयोग गरिरहेको भेटियो ।विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को व्यवस्था बमोजिम अनुज्ञापत्र नलिई शंकास्पद कच्चा पदार्थबाट बनाइएको करिब १ लाख ४० हजार रुपैयाँ बराबरको ३ सय ५० किलो तयारी खाद्य पदार्थ नष्ट गर्दै उद्योगमा सिलबन्दी गरेको छ ।कलंकी आसपास उद्योगले तयार पार्ने यी गुँदपाक र पुष्टकारी विशेषगरी काठमाडौंबाट बाहिरिने लामो दुरीका यात्रुहरूलाई लक्षित गरी बेच्ने गरिएको सबैलाई जानकारी नै छ ।कलंकी र गोंगबुस्थित नयाँ बसपार्क जस्ता मुख्य नाकामा उद्योगका कर्मचारीहरू नै खटिएर बस र माइक्रोबसका झ्याल–ढोकामै पुगी यो ‘विष’ यात्रुलाई भिराउने गरेका छन् । साथै, ती क्षेत्रका अधिकांश खुद्रा पसलमा पनि यही ब्रान्डका उत्पादन छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् ।यसको अर्थ, उपत्यका बाहिरिने हजारौं यात्रुले नजानिँदो तरिकाले यो अखाद्य वस्तु कोसेलीका रूपमा गाउँ–गाउँ पुर्‍याइरहेका छन् ।

 

नक्कली मिति र दूषित चियापत्ती

बदमासी गुँदपाक र पुष्टकारीमा मात्र सीमित छैन । स्वयम्भूस्थित ‘श्री सस्तो बास्केट पसल’ मा म्याद नाघेका खाद्य पदार्थलाई रिप्याकेजिङ गरी नक्कली उत्पादन र उपभोग्य मिति टाँसेर बेच्ने गरेको उजुरीका आधारमा अनुगमन टोली त्यहाँ पुगेको थियो ।उक्त पसलमा खाद्य पदार्थ भण्डारण अत्यन्तै अव्यवस्थित थियो । अनुमति बेगर खाद्यान्न, दलहन र चिनीको खुद्रा प्याकिङ भइरहेको थियो । पसलको बिक्री स्थलमै म्याद नाघेका करिब १४ किलो सुजी, ५ किलो ब्रेड क्रम्ब (बिस्कुटको धुलो), १० किलो थाइम र १ किलो राजमा फेला पर्‍यो ।साथै, लेभलमा अनुज्ञापत्र नम्बर नै उल्लेख नभएका नौनी र ड्राई फ्रुट्स पनि बिक्रीमा राखिएको थियो । विभागले म्याद गुज्रेका सामान नष्ट गर्दै पसललाई म्याद नाघेका सामान राख्न छुट्टै ‘एक्स्पायर्ड जोन’ बनाउन निर्देशन दिएको छ ।त्यस्तै, स्वयम्भूकै ‘यती आइस प्रालि’ ले झनै ठूलो लापबाही गरिरहेको भेटियो । काठमाडौं महानगरपालिका–१६ मा दर्ता भएको यो उद्योग वडा–१५ मा सञ्चालन भइरहेको थियो ।

उद्योगले खाद्य अनुज्ञापत्र नै नलिई २ थान आइस मेसिन, १ थान आरओ मेसिन र ३ थान डिप फ्रिजर राखेर आइसक्युब उत्पादन गरिरहेको थियो । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ का प्रावधानहरू पूर्णरूपमा पालना नगरेको पाइएपछि विभागले उक्त उद्योगलाई पनि सिलबन्दी गरेको छ ।बिहान उठ्नेबित्तिकै पिउने चियामै गम्भीर लापरबाही भेटिएको छ । विभागले बजारबाट संकलन गरेको चियाको नमुना प्रयोगशालामा परीक्षण गर्दा दूषित भएको प्रमाणित भएको छ ।रुपन्देहीस्थित ‘साई कृपा चिया उद्योग प्रालि’ ले उत्पादन गरेको ‘साई कृपा गोल्ड चिया’ (१ हजार ग्रामको प्याकेट) दूषित प्रमाणित भएपछि विभागले उक्त चियाको ब्याच नम्बर ‘८३ डी ०५’ (उत्पादन मिति जुलाई २०२६, उपभोग्य मिति १८ महिना) का सम्पूर्ण उत्पादन बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।

‘तत्काल बान्ता र पखालादेखि दीर्घकालीन रूपमा क्यान्सर र मिर्गौला फेलसम्मको जोखिम’

यस्ता अखाद्य, किरा परेका र म्याद गुज्रेका वस्तुले मानव शरीरमा कस्तो असर गर्छन् त ?पोषणविद् प्रवीण भट्टराईका अनुसार यस्ता खानेकुरा शरीरभित्र पसेपछि विषका रूपमा काम गर्छन् ।भट्टराई यस्ता अखाद्य खाद्यवस्तु खाँदा तत्कालै फुड पोइजनिङ (बान्ता र पखाला) हुनेदेखि दीर्घकालीन रूपमा क्यान्सरसम्मको जोखिम हुने बताउँछन् ।उनका अनुसार बिग्रिसकेका र किरा परेका कच्चापदार्थबाट बनेका खानेकुरामा ढुसी र माइक्रो टक्सिन (सूक्ष्म विष) अत्यधिक मात्रामा बढेका हुन्छन् । यस्तो खानेकुरा खाँदा शरीरको पाचन प्रणालीमा गम्भीर असर पर्छ ।‘हाम्रो पेटमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले बाहिरबाट आएका साल्मोनेला, ई–कोलाई जस्ता हानिकारक ब्याक्टेरियालाई मार्न खोज्छ र अत्यधिक एसिड उत्पादन गर्छ, तर अखाद्य वस्तुमा ब्याक्टेरियाको मात्रा यति धेरै हुन्छ कि पेटले त्यसलाई थाम्नै सक्दैन,’ भट्टराई भन्छन्, ‘खासगरी बालबालिकाको इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) पूर्णरूपमा विकास नभइसकेको हुने हुँदा उनीहरूलाई यसले झनै छिटो र गम्भीर असर गर्छ, पेटको भित्री तह सुन्निने समस्या देखापर्छ ।’अखाद्य वस्तु शरीरमा पुगेपछि शरीरले त्यो विषालु कुरा पचाउनुभन्दा अगाडि नै बाहिर निकाल्नुपर्छ भनेर प्रतिक्रिया जनाउँदा तत्काल बान्ता हुने उनको भनाइ छ ।त्यसैगरी सानो र ठूलो आन्द्राको मुख्य काम खानाबाट कार्बोहाइड्रेट र प्रोटिन सोस्ने भए पनि विषालु ब्याक्टेरिया पुगेपछि त्यसको काम उल्टो हुने उनले बताए ।‘ब्याक्टेरियालाई शरीरबाट फाल्नका लागि आन्द्राले इलेक्ट्रोलाइट्स र पानी अत्यधिक मात्रामा बाहिर निकाल्छ, जसका कारण पखाला चल्छ,’ भट्टराईले थपे ।यस्ता अखाद्य खानेकुराले तत्काल पेटमा मात्र नभई शरीरका मुख्य अंगहरूमा समेत गम्भीर असर पुर्‍याउँछन् ।

शरीरमा टक्सिन (विषालु पदार्थ) अत्यधिक बढेपछि त्यसलाई फिल्टर गर्ने लिभर (कलेजो) र किड्नी (मिर्गौला) ले काम गर्न नसक्ने र पिसाब मार्फत पनि समस्या देखिने उनले बताए ।व्यापारीहरूले मिठाईलाई आकर्षक देखाउन प्रयोग गर्ने रङ र कृत्रिम गुलियो पदार्थ झनै खतरनाक भएको उनले औँल्याए । ‘मिठाईलाई राम्रो देखाउन प्रयोग गरिने फुड कलर र आर्टिफिसियल स्विटनरहरू सिधै क्यान्सरसँग जोडिएका छन्,’ पोषणविद् भट्टराईले भने, ‘यसले अन्तत: क्यान्सर नै गराउँछ भन्ने कुरा धेरै अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन् ।’लामो समयसम्म गुँदपाक र पुष्टकारी नबिग्रियोस् र नकुहियोस् भनेर व्यापारीहरूले स्वस्थकर घिउको साटो सस्तो र हानिकारक ‘हाइड्रोजेनेटेड आयल’ प्रयोग गर्ने गरेको उनी बताउँछन् ।‘घिउ मिसाउनुपर्नेमा उनीहरूले हाइड्रोजेनेटेड आयल मिसाउँछन्, यस्तो तेल प्रयोग गर्दा र मोइस्चर (ओसिलोपना) कम गराउँदा खानेकुरा लामो समयसम्म गन्हाउने वा ढुसी नपर्ने हुन्छ,’ उनले भने, ‘यही कारणले पुष्टकारी र गुँदपाक लामो समयसम्म टिक्छ, तर त्यो उपभोक्ताको स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ ।’

सामान नष्ट गरेरमात्र पुग्दैन, क्षतिपूर्ति भराउनुपर्छ : उपभोक्ता अधिकारकर्मी

पटक–पटक यस्ता घटना दोहोरिरहँदा राज्यको कारबाही फितलो भएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले मानिसको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने यस्ता व्यापारीलाई सामान जफत र नष्ट गर्ने सामान्य कारबाही मात्र पर्याप्त नहुने भन्दै कडा कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।‘दसैंतिहारका बेला काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूले कोसेलीका रूपमा गुँदपाक, पुष्टकारी लिएर जान्छन्, विदेश जाँदा पनि यस्ता मिठाई लैजाने गरिन्छ,’ अधिकारकर्मी तिमल्सिनाले भने, ‘तर, किरा परेको कच्चापदार्थ प्रयोग गरेर यस्ता खानेकुरा बनाइरहँदा र खुलेआम बिक्री भइरहँदा लाखौं उपभोक्ताको ज्यान जान सक्ने यस्तो गम्भीर कुरामा राज्य संयन्त्र अत्यन्तै फितलो देखियो ।’

उनले स्थानीय सरकार र अनुगमन गर्ने स्थायी संयन्त्रहरूको काम सुस्त र प्रभावहीन भएको आरोप लगाए । ‘काठमाडौं महानगरपालिकाले प्रयोगशाला स्थापना गरेँ भन्छ, खाद्य निरीक्षक राखेँ भन्छ, तर खोइ त काम गरेको ? हाम्रो अनुगमन संयन्त्रमा समन्वय नै भएन,’ उनले थपे । कुनै व्यापारीले अखाद्य वस्तु उत्पादन गर्छ भने त्यसको सामान जफत गरेर र नष्ट गरेर मात्रै नपुग्ने उनको भनाइ छ ।  ‘अब वाणिज्य विभाग र खाद्य विभागले समन्वय गरेर यस्ता ठग उत्पादकलाई उपभोक्ता अदालतमा मुद्दा लिएर जानुपर्छ,’ उनले भने, ‘उनीहरूलाई ठूलो जरिबाना गराउने र उपभोक्तालाई क्षतिपूर्ति दिलाउने काम हुनुपर्छ, अनुज्ञापत्र नै नलिई खुला दही, दूधजस्ता कुरा पनि जथाभाबी प्याकेजिङ गरेर बजार पठाउने काम भइरहेको छ, यसले बजार अत्यन्तै गम्भीर अवस्थामा पुगेको देखाउँछ ।’

जिल्ला अदालतमा मुद्दा हाल्ने, ७७ वटै जिल्लामा कार्यालय खोल्ने

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दोषी व्यापारीलाई कडा कानुनी दायरामा ल्याउने दाबी गरेको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले चन्द्रागिरिका मिठाई उद्योगलाई जिल्ला अदालतमा मुद्दा चलाउने तयारी भइरहेको बताए ।‘म्याद एक्स्पायर भएका चकलेट, खुला बिस्कुट र किरा लागेका सामग्री संकलन गरेर, धुलो बनाएर गुँदपाक र पुष्टकारी बनाउँदै गरेको ठूलो मात्रामा भेटियो,’ महानिर्देशक कर्णले अनलाइनखबरसँग भने, ‘अहिले उक्त उद्योग सिलबन्दी गरेर उत्पादनमा रोक लगाएका छौं, फोहोर सामग्री नष्ट गर्न नगरपालिकालाई जिम्मा दिइएको छ, प्रयोगशालामा परीक्षणका लागि पठाइएको नमुनाको रिपोर्ट आएपछि बयान लिएर सिधै जिल्ला अदालतमा मुद्दा दायर गर्छौं, जानी–जानी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन बमोजिम कडा सजाय हुन्छ ।’यसरी उपभोक्ताको ज्यानमाथि खेलबाड गर्नेलाई नयाँ ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ ले कडा कारबाहीको व्यवस्था गरेको छ ।

ऐनको दफा ४२ (ग) बमोजिम किरा परेका वा खान नहुने अखाद्य वस्तु मिसाएर उत्पादन तथा बिक्री गर्ने व्यापारीलाई एक वर्षसम्मको जेल सजाय, ४ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने स्पष्ट कानुनी प्रावधान छ ।समग्रमा यस ऐनले कसुरको गाम्भीर्यता हेरी ५० हजार जरिबानादेखि अधिकतम तीन वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिबाना तिराउन सक्ने अधिकार दिएको छ ।बजार सुधार्न तत्काल जरिबाना वा सामान नष्ट गरेरमात्र नपुग्ने भन्दै महानिर्देशक कर्णले प्रणालीगत सुधारको आवश्यकता औँल्याए ।‘हामी सुधार होस् भनेर खाद्य स्वच्छता प्रणाली विकास गर्न लागिरहेका छौं,’ उनको दाबी छ, ‘उत्पादन गर्दै गुणस्तर सुनिश्चित भएका वस्तुमात्र बजारमा आउने प्रणाली विकास गर्न निर्देशिकाहरू बनाइरहेका छौं ।’अनुगमन थप प्रभावकारी बनाउन विभागमा जनशक्तिको चरम अभाव रहेको महानिर्देशक कर्णको भनाइ छ । ‘विभागमा जनशक्ति त्यति नै छ, ओएन्डएम मार्फत जनशक्ति बढाउनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने, ‘निरीक्षक संख्या थोरै छ तर विश्लेषण गर्नुपर्ने स्कोप र नमुना संख्या बढेको छ, त्यसैले ७७ वटै जिल्लामा कार्यालय खोल्ने र जनशक्ति बढाउने किसिमले हामीले प्रयास गरिरहेका छौं ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पुरानो इतिहासमा नयाँ जोश भरेर महाधिवेशनमा जान्छौँ : डा. शशांक कोइराला

काठमाडौं , १० असोज। नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले पार्टीलाई नयाँ ऊर्जा र संकल्पका साथ १५औँ महाधिवेशनमा होम्न लागिएको बताउनुभएको छ।महाराजगञ्जस्थित

जलवायु संकट सामना गर्न नेपालद्वारा ‘हिमालयन रेजिलियन्स मेकानिजम’को प्रस्ताव

काठमाडौं, असोज १०।संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह शनिबार अपराह्न स्वदेश फर्कनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको

हिमालय फुटसल गोल्ड कपको उपाधि मेन्टेन एफसीलाई, भोटे एफसी पेनाल्टीमा पराजित

काठमाडौं , असोज १०। तेस्रो संस्करणको ’हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ ।राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सूटआउटमा ३–२ गोल

फुईयाको फुरफुर

उसले पढेको थियो, बुझेको थियो, “हिड्ने मान्छे लड्छ” भनेर। ए..बाबा नलडोस पनि कसरी, सबैले लढनै पर्छ। बालक देखि वृद्ध सम्म सबैले हिड्ने प्रयास गरेरै लड्ने हुन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता

काठमाडौं , १० असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किनुभएको छ । उहा केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो

काजु र खुवाका नाममा बिस्कुटको धुलो : अनुगमनमा भेटियो उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलबाड

 काठमाडौं , १० असोज। चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्ने उपभोक्ताहरूको घुइँचो लाग्न थालेको छ ।उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा