काठमाडौं , १० असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किनुभएको छ । उहा केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो । उहाले ८ गते महासभालाई सम्बोधन गर्नुभएको थियो ।महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गर्नुभएको थियो।महासभामा उहाले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यबारे धारणा राख्नुभएको थियो ।महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो।
उहाले हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपालजस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको बताउनुभएको थियो ।साथै, ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिएको उहाले बताउनुभएको थियो ।प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा राख्नुभएको थियो । उहाले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई पनि अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने बताउनुभएको थियो ।









