काठमाडौं , असोज ११ । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेषगरी नारायणी नदी आसपासका बासिन्दालाई आज उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखामा कार्यरत असिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवका अनुसार नारायणी नदीमा आज उल्लेख्य रूपमा पानी बढ्ने र खतरा सतहभन्दा माथि रहने अवस्था देखिएको छ । उनले भने, ‘नारायणी नदीमा आज एकदम उल्लेख्य बढ्ने अनि यो खतरा सतहभन्दा माथि छ । आज दिनभरि नै यो पानी भनेको खतरा सतह लगभग आसपास रहने र बेलुकासम्म बिस्तारै पानी घटेर खतरा सतहभन्दा तल आउने देखिन्छ । त्यही भएर नारायणी नदीको लागि आजको दिन भनेको एकदम सावधानी अपनाउनुपर्ने देखिन्छ । त्यस क्षेत्रमा रहेका बासिन्दाहरु अनि अरु–अरु कुराहरुको लागि त्यो खोलाभन्दा टाढा रहने अनि सावधानी अपनाउने भन्ने देखिन्छ ।’यादवका अनुसार कोशी नदी जलाधार क्षेत्रमा पनि सप्तकोशी, तमोर, अरुण, दूधकोशी, लिखु लगायतका नदीमा आज र भोलि पानीको बहाव उल्लेख्य बढ्ने देखिएको छ । तर ती नदीमा पानी सावधानी सतहभन्दा तलै रहने अनुमान गरिएको उनले बताए ।उनले भने, ‘कोशी नदीमा, कोशी जलधार क्षेत्रको हेर्नुपर्दा सप्तकोशी, तमोर, अरुण अनि त्यस्तै दुधकोशी, लिखु खोलाहरु लगायतका अरु नदीहरु आजको मितिमा उल्लेख्य बढ्ने देखिन्छ । अनि त्यसपछि आउँदा दिनहरु आउँदा पाँच दिनको अनुमान गर्नुपर्दा खेरि आज उल्लेख्य बढ्ने भोलि पनि उल्लेख्य बढ्ने तर त्यो सावधानी सतहभन्दा तलै रहने देखिन्छ।’त्यस्तै कर्णाली, चिसापानी, ठूलीभेरी, भेरी लगायतका नदीमा पनि आज पानीको बहाव उल्लेख्य बढ्ने तर खतरा सतहभन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।
पूर्वी राप्ती, तिनाउ र बाणगंगा लगायतका नदीमा भने पानी बढेर सावधानी सतह पार गर्ने सम्भावना रहेको यादवले बताए । उनले भने, ‘त्यस्तै उतातिर पूर्वी राप्ती, तिनाउ, वाणगंगा लगायतका नदीहरु चाहिँ उल्लेख्य बढ्ने देखिन्छ आज र यो सावधानी सतह कट्ने देखिन्छ। अनि बिस्तारै भोलिदेखि चाहिँ उल्लेख्य बढे पनि सावधानी सतहभन्दा तलै रहने र आउँदा दिनहरुमा चाहिँ यो सामान्य घटबढ मात्रै हुने देखिन्छ।’महाशाखाले तयार पारेको २४ घण्टे पूर्वानुमान नक्साअनुसार पूर्वी नेपालका अधिकांश क्षेत्रमा न्यून जोखिम रहेको छ। तर गोरखा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका तथा पर्सा, बारा, रौतहट र सर्लाहीमा मध्यम जोखिम देखिएको छ ।यादवका अनुसार ती क्षेत्रमा नदी तथा खोलाको पानी सावधानी सतहभन्दा माथि पुग्न सक्ने भए पनि खतरा सतहभन्दा तलै रहने अनुमान गरिएको छ ।उनले भने, ‘अनि त्यसपछि हामी थोरै पश्चिम सिफ्ट भयौँ भने गोर्खा, रसुवा, धादिङ, नुवाकोट अनि काठमाडौँ भ्याली त्यसपछि तराईका जिल्लाहरु पर्सा, बारा, रौतहट, सर्लाहीका जिल्लाहरुमा चाहिँ मध्यम खालको जोखिम देखिन्छ।’मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ, तनहुँ तथा चितवन र नवलपरासीका क्षेत्रमा भने उच्चदेखि अति उच्च जोखिम देखिएको महाशाखाले जनाएको छ । विशेषगरी कास्की क्षेत्रमा राति भएको भारी वर्षाका कारण म्याग्दी, कालीगण्डकी, सेती गण्डकी लगायतका नदीमा पानीको सतह बढेको यादवले बताए ।उनले भने, ‘त्यस्तै पश्चिमको कुरा गर्नुपर्दाखेरि मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ, तनहुँ लगायत तराईका चितवन, नवलपरासी लगायत जिल्लाहरुमा हामीले अति उच्च जोखिम लगाएका छौँ। यो अति उच्च हुनुको कारण के भयो भन्दा राती उता कास्कीतिर धेरै भारी वर्षा भएर कास्कीका लगभग–लगभग सबै खोलाहरु जस्तै म्याग्दी, कालीगण्डकी अनि अरु सेती गण्डकीहरु यो सबै नदीहरु सावधानी सतह कटेर सबै पानी हाम्रो तल आउने देखिन्छ। त्यसले गर्दा चाहिँ खतरा सतह कटेर पनि पानी त्यहाँभन्दा बढी–बढी बढिरहेको छ हैन। बस्तीहरुमा पानी फैलिराखेको कन्डिसन छ।’
कपिलवस्तु र रुपन्देहीमा भने उच्च जोखिम रहेको महाशाखाले जनाएको छ । त्यहाँ नदीमा पानीको बहाव बढेर खतरा सतहसम्म पुग्ने सम्भावना रहे पनि ठूलो क्षति हुने गरी बाढी आउने अवस्था नदेखिएको यादवले बताए ।महाशाखाका अनुसार आज बारा, पर्सा, रौतहट र सर्लाहीमा साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ । चितवन, नवलपरासी पूर्व तथा पश्चिम, लमजुङ र कास्कीमा भने खोलामा पानी उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ ।पश्चिमका हुम्ला, मुगु, जुम्ला तथा रुकुम पूर्वलगायतका हिमाली क्षेत्रमा भने बाढीको जोखिम न्यून रहेको महाशाखाले जनाएको छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, जाजरकोट र रुकुमलगायतका क्षेत्रमा मध्यम जोखिम देखिएको छ ।यादवले प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै गएकाले पश्चिमका केही क्षेत्रमा पनि आज दिनभरि पानी बढेपछि बेलुकासम्म क्रमशः घट्दै जाने अवस्था रहेको बताए ।उनले भने, ‘पश्चिमका अरु जिल्लाहरु जस्तै लुम्बिनी प्रदेशका जिल्लाहरु अनि त्यसपछि सुदूरपश्चिम प्रदेशका जिल्लाहरु लगायत यो जाजरकोट, रुकुम अनि तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङहरु यो जिल्लाहरुमा मध्यम खालको जोखिम देखिन्छ । यो भनेको सावधानी सतह कटेर खतरा सतहको बीचमा रहने देखिन्छ र त्यो पानीहरु बिस्तारै अब प्रणाली बिस्तारै पूर्वबाट पश्चिमतिर सिफ्ट भइराखेको हुनाले त्यो बिस्तारै पानीहरु घट्दै जाने आज दिनभरिलाई पानी खोलामा बढे पनि बिस्तारै बेलुकासम्म पानी घट्ने देखिन्छ।’महाशाखाले भोलिका लागि तयार पारेको पूर्वानुमान नक्साअनुसार देशका अधिकांश क्षेत्रमा बाढीको जोखिम न्यून रहनेछ । प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै बाहिरिने क्रममा रहेकाले भोलिबाट अधिकांश क्षेत्रमा बाढीको जोखिम नरहने अनुमान गरिएको छ । तर दार्चुला, बैतडी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा मध्यम जोखिम रहने महाशाखाले जनाएको छ ।हालको अवस्थाबारे जानकारी दिँदै यादवले नारायणी नदी तथा त्यसका सहायक नदीमा पानीको सतह चेतावनी तह पार गरिसकेको बताएका छन् । त्यस क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।









