काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली सेना, सडक विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि नुवाकोटको कठिन भीरमा अस्थायी ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै यातायात सम्पर्क पुनर्स्थापित भएको सडक विभागले जनाएको छ । भदौ १० गते चीनतर्फबाट भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा ठुलो जनधनको क्षति पुर्याउनुका साथै रणनीतिक सडक र पुलहरू क्षतविक्षत बनाएको थियो । सडक सञ्जाल टुटेपछि स्थानीय बासिन्दाको जनजीवन कष्टकर बन्नुका साथै उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापारिक नाका रसुवागढीसम्मको यातायात पूर्ण रूपमा ठप्प छ । दसैँ नजिकिँदै गर्दा जसरी पनि रसुवागढी नाका खुलाउने लक्ष्यसहित सरकारका सम्पूर्ण संयन्त्र फिल्डमा खटिएका छन् । तर, बाढी गएको एक महिना बितिसक्दा भर्खरै मात्र बेत्रावतीसम्मको सडक जोड्न सकिएको छ । नुवाकोटबाट बेत्रावती जाने खण्डमा रहेको कडा भीर र लगातारको वर्षाले काममा ठुलो अवरोध सिर्जना गर्दा बेत्रावतीमै सडक जोड्न निकै सकस परेको सडक विभागले जनाएको छ । बेत्रावतीमा सडक जोड्न भोगेको यो कठिनाइले अझै विकट भूगोल रहेको स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्म कहिले सडक पुग्ला भन्ने अझै अन्योल छ । विभागका अनुसार दसैँ नजिकिँदै गर्दा चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीसम्मको यातायात खुलाउन अहिले प्राविधिक टोलीले रातदिन काम गरिरहेको छ ।
- कहाँ–कहाँ जडान गरिँदै छ बेलिब्रिज ?
बाढीपहिरोले सडक र पुलहरू बगाएपछि अवरुद्ध यातायात सेवालाई तत्काल सञ्चालन गर्न विभिन्न संवेदनशील स्थानहरूमा अस्थायी पुल तथा बेलिब्रिज जडान गर्ने कार्यलाई तीव्र पारिएको छ । क्षतिग्रस्त सडक सञ्जाललाई पुनः जोड्न सरकारले गल्छी–देवीघाट, बेत्रावतीदेखि स्याफ्रुबेँसीसम्मका रणनीतिक बिन्दुहरूमा प्राथमिकताका साथ काम अघि बढाएको छ ।यस क्रममा गल्छी–देवीघाट–त्रिशूली सडकखण्डको अस्थायी मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ । पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल तथा बेलिब्रिज निर्माण एवं पुनर्स्थापना कार्यदलका संयोजक (पूर्वउपरथी) धर्मेन्द्र झाका अनुसार देवीघाटमा एउटा बेलिब्रिज जडानको कार्य सम्पन्न भइसकेको छ भने कोल्पु खोलाको पुललाई पनि अस्थायी रूपमा मर्मत गरी गाडी चल्ने बनाइएको छ । यी दुई स्थानको मर्मतले राजधानीलाई नुवाकोटसँग जोड्न ठुलो राहत मिलेको छ ।त्यस्तै, नुवाकोटको बेत्रावतीमा पनि पुल निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । सडकको ट्र्याक खुलिसकेको र पुलको जग (फाउन्डेसन) निर्माण सम्पन्न भइसकेकाले अब त्यहाँ संरचना जडानको काम तीव्र पारिँदै छ । सौजन्य नेपालका अनुसार बेत्रावतीमा करिब १० दिन लाग्ने अनुमान छ । कार्यदलका संयोजक झाका अनुसार बेत्रावतीमा जडान गर्न लागिएको पुल सामान्य बेलिब्रिज नभई पहिलेकै मौज्दातमा रहेको ७३ मिटर लामो अमेरिकी प्रविधिको ‘एक्रो ब्रिज’ हो । मौसमले साथ दिएमा सामग्री ढुवानी सुरु भएको ५ देखि ७ दिनभित्रै यो पुल तयार हुनेछ ।बेत्रावतीको काम सम्पन्न भएलगत्तै सडक विभागको सम्पूर्ण ध्यान रसुवाको स्याफ्रुबेँसीमा केन्द्रित हुनेछ । इन्जिनियर सौजन्य नेपालका अनुसार पुरानो पासाङ ल्हामु राजमार्गको घुम्ती हुँदै स्याफ्रुबेँसी पुग्ने बाटोमा खसेको करिब १०० देखि १५० मिटर लामो पहिरो र विशाल ढुङ्गाहरू पन्छाउने काम तत्काल सुरु गरिँदै छ । पहिरो हटाएर जग निर्माणको काम सकिएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज जडान गरिनेछ । त्यहाँ नेपाली सेनासँग उपलब्ध ७६ मिटर लामो बेलिब्रिज जडान गरिनेछ । यी अस्थायी पुलहरूको निर्माण सम्पन्न भएसँगै उत्तरी नाका रसुवागढीसम्मको यातायात सम्पर्क पूर्ण रूपमा पुनर्स्थापित हुनेछ ।
- तत्काललाई अस्थायी सडक र पुलको भर : दीर्घकालीन पुनर्निर्माण कहिले ?
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले क्षतविक्षत बनाएका सडक तथा पुलहरूको दीर्घकालीन (स्थायी) पुनर्निर्माण चुनौतीपूर्ण बनेको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखामा पुर्याएको क्षतिको स्थायी पुनर्निर्माण गर्न ७३ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान छ । यति ठुलो बजेट तत्काल जुटाउन कठिन हुने र भौगोलिक विकटताका कारण पूर्ण रूपमा स्थायी संरचना बन्न अझै केही वर्ष लाग्ने देखिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘विपद्को द्रुत क्षति तथा आवश्यकता आँकलन’ (आरडीएनए) प्रतिवेदनअनुसार बाढीले ठुलो मात्रामा पूर्वाधार नष्ट गरेको छ । प्रतिवेदनका अनुसार बाढीपहिरोले ६९ किलोमिटर सडक पूर्ण रूपमा बिग्रिएको छ । ३३ वटा मोटरेबल पुल पूर्ण रूपमा नष्ट भएका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ । त्यस्तै, ५३ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ ।यी सम्पूर्ण संरचनाहरूलाई बाढीअघिकै अवस्थामा फर्काउन वा नयाँ र बलियो स्थायी संरचना (पक्की पुल र कालोपत्रे सडक) बनाउन ७३ अर्ब ३४ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्राधिकरणको आँकलन छ ।दीर्घकालीन पुनर्निर्माण कहिले हुन्छ भन्ने प्रश्नमा सरकारी अधिकारीहरू ठ्याक्कै समयसीमा तोक्न सक्ने अवस्थामा छैनन् । स्थायी पुल र सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न, वैदेशिक तथा आन्तरिक स्रोतबाट बजेट सुनिश्चित गर्न र ठेक्का प्रक्रियामा जान मात्रै लामो समय लाग्नेछ । त्यसपछि जटिल भूगोलमा पक्की पुल र सडक निर्माण सम्पन्न हुन कम्तीमा ३ देखि ५ वर्ष लाग्ने प्राविधिकहरूको भनाइ छ । यति ठुलो बजेट सरकार एक्लैले व्यहोर्न नसक्ने भएकाले दातृ निकाय र छिमेकी राष्ट्रहरूको सहयोगमा दीर्घकालीन पुनर्निर्माणको खाका कोर्ने तयारी भइरहेको छ ।दीर्घकालीन पुनर्निर्माणमा खर्बौँको बजेट र लामो समय लाग्ने भएपछि सरकारको पहिलो प्राथमिकता अहिले ‘अस्थायी कनेक्टिभिटी’ (तत्कालको सम्पर्क) मा मात्रै छ । स्थायी संरचना नबनुन्जेल वर्षौंसम्म अस्थायी बेलिब्रिजकै भरमा चीन जोड्ने रसुवागढी नाकासहितका प्रभावित क्षेत्रको यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ । सुपरिटेन्डेन्ट इन्जिनियर नेपालका अनुसार अहिले सडक विभागको सम्पूर्ण ध्यान अस्थायी ट्र्याक खोल्ने र बेलिब्रिज हाल्ने काममा केन्द्रित छ ।‘अहिले हामी पूर्ण रूपमा अस्थायी कनेक्टिभिटीका लागि मात्रै काम गरिरहेका छौँ,’ इन्जिनियर नेपालले भने, ‘दीर्घकालीन काम अघि बढ्न समय लाग्ने भएकाले तत्काल रसुवा जोड्न बेत्रावती र स्याफ्रुबेँसीमा बेलिब्रिज जडानको कार्य अघि बढाइएको हो ।’स्थायी पुल नबन्दासम्म विदेशी सहयोगमा प्राप्त अस्थायी पुलहरूले सङ्कट टार्ने काम भइरहेको छ । अहिले भारतबाट १० वटा, चीनबाट २ वटा र अमेरिकाबाट समेत बेलिब्रिज ल्याउन लागिएको छ । यी पुलहरूले दीर्घकालीन निर्माण नहुँदासम्म सडक सञ्जाल जोड्न मद्दत गर्नेछन् । भारतबाट हालसम्म ४ वटा पुल आइसकेका छन् भने चीनले दिएका १०० मिटर लामा पुलमा हरेक २५ मिटरमा पिलर राख्नुपर्ने भएकाले तत्काल जडानमा प्राविधिक चुनौती देखिएको छ ।









