नेपाल र अस्ट्रेलियाबीच आर्थिक सहकार्य विस्तार गर्ने सहमति

काठमाडौं ,२२ असोज । नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन् । मेलबर्नमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन तथा श्रम गतिशीलता लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो । भेटवार्तामा दुवै मन्त्रीले नेपाल–अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

 

सो अवसरमा अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको विनाशकारीबाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताउनु भयो।वङले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गर्नु भयो । यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि प्रतिबद्ध गरेको ११ मिलियन अस्ट्रेलियन डलर सहयोगमा उक्त रकम थप हुनेछ । नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका कार्यमा केन्द्रित रहने जनाइएको छ । मन्त्री खनालले विपद्का समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गर्नु भयो। उहाँले संकटका समयमा प्राप्त सहयोगले नेपाल–अस्ट्रेलियाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप प्रतिबिम्बित गरेको बताउनु भयो।

 

भेटवार्तामा जलवायु परिवर्तनबाट नेपाल तथा प्रशान्त क्षेत्रका मुलुकमा परेको साझा जोखिमबारे पनि छलफल भएको थियो । खनालले विशेषगरी आगामी कोप–३१ को सन्दर्भमा हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असमान र गम्भीर प्रभावलाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा उठाउन अस्ट्रेलियालाई आग्रह गर्नु भयो ।त्यस्तै, जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको छ । दुई देशबीच शैक्षिक सहकार्य विस्तार गर्ने विषयले समेत भेटवार्तामा स्थान पाएको छ। नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम टीभीईटी संस्थाहरू स्थापना गर्ने तथा अस्ट्रेलियाका विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउनेबारे विचार आदानप्रदान भएको छ ।

 

मन्त्री खनालले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज तथा अर्थतन्त्रमा नेपाली विद्यार्थी र डायस्पोराले पु¥याउँदै आएको योगदानको उल्लेख गर्दै विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका क्रममा योग्य नेपाली विद्यार्थीका लागि अनुकूल र न्यायोचित व्यवस्था गर्न आग्रह गर्नु भयो। यसैगरी, नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत छलफल भएको छ। प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालसँगको साझेदारीलाई आगामी दिनमा थप सुदृढ गर्न अस्ट्रेलिया प्रतिबद्ध रहेको बताउनु भयो। दुवै पक्षले उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिँदै भेटवार्तामा भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न सहकार्य गर्ने सहमति गरेका छन्।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल