सुनसरी ,२२ असोज। सुनसरीका छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर सहित चार जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागूऔषध नियन्त्रण टोली (पीआईटी) र प्रहरी चौकी तरहराको संयुक्त टोलीले इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट एक युवकलाई नियन्त्रणमा लिएको हो। पकलीबाट अमाहातर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प २७९० नम्बरको स्कुटर जाँच गर्दा इटहरी–१९ पटेरुवाका १९ वर्षीय अमन चौधरी ०.५ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्।
त्यसैगरी, बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी नडाहाको टोलीले शंकास्पद अवस्थामा रहेका तीन युवकलाई नियन्त्रणमा लिएको छ। जाँचका क्रममा उनीहरूको साथबाट ०.८२ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा बराहक्षेत्र–३ का १८ वर्षीय रमित राजधामी, २२ वर्षीय पुजन राजधामी र १९ वर्षीय समिर राजधामी रहेका छन्। पक्राउ परेका चारै जनालाई नियन्त्रणमा राखी आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।









