सुनसरी ,२६ असोज। सुनसरीको कोसी गाउँपालिका–३ की २४ वर्षीया शर्मिला सदालाई सुरक्षित सुत्केरी गराउन जिल्ला अस्पताल इनरुवादेखि विराटनगरस्थित कोशी अस्पतालसम्म पुग्नुपर्ने अवस्था आएपछि स्थानीय स्वास्थ्य सेवा र मातृत्व तथा शिशु सुरक्षा कार्यक्रमको प्रभावकारिता माथि प्रश्न उठेको छ। आर्थिक तथा सामाजिक रूपमा कमजोर शर्मिला र उहाँका श्रीमान् देवकुमार सदा सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्दै आँउनु भएको छ। शिक्षाको पहुँचबाट टाढा रहेको यो परिवारलाई स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारीसमेत नभएको उहाँहरू बताउँनु हुन्छ।
२०८२ पुसमा शर्मिलालाई ज्वरो र रुघाखोकी लागेपछि श्रीमान् देवकुमारले उपचारका लागि अस्पताल जान आग्रह गर्नु भयो ।तर, शर्मिलाले पुस महिनामा महिनावारी नभएको बताएपछि पहिले गर्भावस्था परीक्षण गर्ने सोच बनाउनु भयो।उहाँकै आग्रहमा देवकुमारले एक–दुई दिनभित्र बजारबाट ५० रुपैयाँ पर्ने गर्भावस्था परीक्षण किट ल्याइदिनु भयो। किटबाट परीक्षण गर्दा दुईवटा रातो धर्का देखिएपछि शर्मिला गर्भवती भएको पुष्टि भयो। गर्भवती भएको थाहा पाएपछि आफूहरूमा उत्साह र खुसी छाएको दुवैले बताउनु भयो। त्यसपछि गर्भावस्थाको पुष्टि गर्न उहाँहरू नजिकैको स्वास्थ्य संस्थामा पुग्नु भएको थियो। स्वास्थ्य संस्थाले पनि गर्भवती भएको पुष्टि गरेको उहाँहरूको भनाइ छ।
शर्मिलाले बिहीबार बिहान दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिइनु भयो। तर, सुरक्षित प्रसूति सेवाका लागि जिल्ला अस्पताल इनरुवादेखि विराटनगरस्थित कोशी अस्पतालको गेटसम्म पुग्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न अहिले चर्चामा छ।यस घटनालाई लिएर एकातिर सञ्चारमाध्यममा चर्चा भइरहेको छ भने अर्कोतिर कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल इनरुवाका कार्यालय प्रमुख सन्तोषप्रसाद साहलाई जिम्मेवारीमुक्त गरेको छ। स्वास्थ्य मन्त्रालय, विराटनगरको आर्थिक वर्ष २०८३ र ८४ को च.नं. ६२१ अनुसार साहलाई जिम्मेवारीमुक्त गरिएको जनाइएको छ।यद्यपि, साहलाई जिम्मेवारीमुक्त गर्नु र शर्मिलाको प्रसूति सेवासम्बन्धी घटनाबीचको सम्बन्धबारे आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।
मातृत्व तथा शिशु सुरक्षा कार्यक्रममाथि प्रश्न
गर्भवती महिलालाई स्थानीय स्तरमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने, जोखिमयुक्त गर्भावस्थाको समयमै पहिचान गर्ने र जटिल अवस्था देखिएमा सुविधा सम्पन्न अस्पतालमा तत्काल पठाउने उद्देश्यले मातृत्व तथा शिशु सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएका छन्।तर, यस्ता कार्यक्रम सञ्चालन भइरहँदा पनि शर्मिला सदाले सुरक्षित प्रसूति सेवाका लागि इनरुवादेखि विराटनगरसम्म पुग्नुपर्ने अवस्था आउनुको कारण सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिएको छ।विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका गर्भवती महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो।
स्थानीय स्वास्थ्य संस्थामा उपलब्ध सेवा, जिल्ला अस्पतालको प्रसूति सेवा र आवश्यकताअनुसार सुविधा सम्पन्न अस्पतालमा पठाउने व्यवस्थाबीच प्रभावकारी समन्वय हुन नसके गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य जोखिममा पर्न सक्छ।शर्मिला सदाको घटनाले कोसी गाउँपालिकामा मात्र नभई सुनसरी, सप्तरीलगायत विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालित मातृत्व तथा शिशु सुरक्षा कार्यक्रम लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुगेको छ वा छैन भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएको छ।गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, जोखिमको पूर्वपहिचान, समयमै अन्य अस्पतालमा पठाउने व्यवस्था, एम्बुलेन्स तथा यातायातको उपलब्धता र अस्पतालबीचको समन्वयबारे पनि प्रश्न उठेको छ।
इनरुवा अस्पतालमा सेवा उपलब्ध थिएन?
शर्मिलालाई जिल्ला अस्पताल इनरुवाबाट विराटनगरस्थित कोशी अस्पतालसम्म पुग्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा स्पष्ट जानकारी आउन आवश्यक छ।इनरुवा अस्पतालमा आवश्यक प्रसूति सेवा उपलब्ध थियो वा थिएन, शर्मिलाको स्वास्थ्य अवस्था कस्तो थियो र उहाँलाई कुन स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाहमा विराटनगर पठाइएको थियो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।यस घटनाबारे कोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामअवतार यादवले आफू यस विषयमा अनविज्ञ रहेको बताउनु भयो।उहाँले हामीसँगको कुराकानीमा घटनाबारे आफूलाई जानकारी नभएको बताउनु भएको छ।मातृत्व तथा शिशु सुरक्षा कार्यक्रमको उद्देश्य कागजमा सीमित हुनु होइन, आवश्यकता परेका गर्भवती महिलाले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनु हो।त्यसैले शर्मिला सदाको घटनालाई आधार बनाएर सम्बन्धित निकायले सेवा प्रवाहको वास्तविक अवस्था, रेफरल प्रणाली र मातृत्व सुरक्षा कार्यक्रमको कार्यान्वयनबारे समीक्षा गर्नुपर्ने देखिएको छ।शर्मिला सदाले इनरुवादेखि विराटनगरसम्म उपचारका क्रममा भोग्नुपरेको अवस्था र उहाँलाई एक अस्पतालबाट अर्को अस्पतालमा पठाउनुपर्नेको कारणबारे सम्बन्धित निकायको आधिकारिक विवरण प्राप्त हुन बाँकी छ।









