बिर्तामोड,२६ असोज । एनके प्यूरिफायर बिर्तामोड विवादमा तानिएपछि अन्यौलमा परेका ग्राहकहरुले पैसा फिर्ताको माग गर्न थालेका छन् । पैसा फिर्ता र फिल्टर लिनेबारे छलफल भइरहेको एक ग्राहकले जानकारी दिनु भयो । चाडैं छिनोफानो होला भन्ने अपेक्षा गरेका ग्राहकहरुले मुद्धा लम्बिएपछि पैसा फिर्ताको मागलाई जोड दिएका छन् । लक्की ड्रमा सहभागी हुन मात्रै फिल्टर लिएको बताउने ग्राहकहरुले पैसा नै फिर्ता हुनुपर्ने अडान लिएका हुन् । उनीहरुले फिल्टरको आवश्यक नरहेकोले पैसा नै फिर्ता हुनुपर्ने माग गर्न थालेका छन् । १५ हजारको फिल्टर लिएर ग्राहकको लगानी असुली नहुने अधिकांशको तर्क छ ।
यता, ग्राहकहरुको प्रतिनिधि बनेका अगुवाहरुले नियम बमोजिम लक्की ड्र सञ्चालनको वातावरण बनाउनुपर्ने बताउँदै आएका छन् । पैसा फिर्ताको विषय अहिले नै सकारात्मक नहुने केहि प्रतिनिधिको भनाई छ । लक्की ड्र सञ्चालन गरेर उपहार लिनुपर्ने तर्क प्रतिनिधिको छ । यसअघि पनि ग्राहकहरुले उपहार र फिल्टर लिइसकेका छन् । फिल्टर नपाउने ग्राहकहरुले अब पैसा नै फिर्ता हुनुपर्ने मागलाई बलियो रुपमा उठाइरहेका छन् ।दशैंअघि लक्की ड्र सञ्चालन हुने आशामा बसेका ग्राहकहरुले कुनै निधो नपाएकै कारण पैसा फिर्ता गर्नुपर्ने बताएका हुन् । ग्राहक बनाउने एजेन्टसँग सम्पर्क गरेर फिल्टर लिन भनिएपछि धेरैले सम्पर्क गरेका थिए । एजेन्टहरु ग्राहकसँग सम्पर्कमा नआउने, फोन नलाग्ने समस्याका कारण सिधैं कम्पनीले पैसा फिर्ता गर्नुपर्ने ठाउँमा उनीहरु पुगेका हुन् । केहि एजेन्टले दशैंपछि मात्रै फिल्टर लिन भनेपछि ग्राहकहरु झनै रिसाएका छन् ।
युनिटी लाइफमा जस्तै मुद्धामामिला लम्बिदै गर्दा ग्राहकको लगानी डुब्ने खतरा बढेपछि ग्राहकहरु लगानी सुरक्षाका लागि एकजुट हुन थालेका छन् । ग्राहकका प्रतिनिधिले पैसा फिर्ता गराउनुको बदलामा लक्की ड्र मै जोड दिंदा कतिपय ग्राहकले शंका गर्न थालेका छन् ।कम्पनीमा ९ हजार ९९९ जना सदस्यले ३७ हजार ९ सय ४० रुपैयाँ बुझाइसकेका छन् । १३ किस्तामा उनीहरुले उक्त रकम बुझाएका हुन् । कम्पनीले २८ किस्तामा ग्राहकहरुबाट जम्मा ३७ करोड ९३ लाख ६२ हजार ६० रुपैयाँ संकलन गर्ने गरेको छ ।कार उपहार जित्ने सपनामा लगानी गरेका ग्राहकहरुले विधि विपरित लक्की ड्र सञ्चालनमा विरोध जनाउँदा यो अवस्थामा पुगेको जानकारहरु बताउँछन् । विवाद गरेर प्रहरी, प्रशासन नगएको थियो भने अहिलेसम्म मिलिसक्ने थियो, उहाँले भन्नु भयो। ग्राहकहरु आत्तिएका कारण मुद्धा बनेको बुझाई छ ।
गत असोज ७ गते बिर्तामोडमा आयोजित उपहार वितरण कार्यक्रममा विधि विपरित लक्की ड्र सञ्चालन गरेको ग्राहकहरुले आरोप लगाएका थिए । सोही क्रममा विवाद हुँदा उपहार वितरण कार्यक्रम नै प्रभावित भएको थियो । ग्राहकहरुले तत्कालै एनकेविरुद्ध इलाका प्रहरी कार्यालयमा निवेदन दिदैं आवश्यक कारबाहीका लागि माग गरेका थिए ।ग्राहकले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर पारदर्शी रुपमा लक्की ड्र सञ्चालन गर्नुपर्ने माग राखेका थिए । ग्राहकको निवेदनपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रहरीलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको थियो । प्रहरीले एनकेविरुद्ध ठगी मुद्धामा अनुसन्धान गरिरहेको छ । सञ्चालकमध्ये दुई जनालाई नियन्त्रणमा लिई म्याद थप गर्दै अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । प्रहरीले कम्पनीको इजाजत, लक्की ड्र सञ्चालन गर्न पाउने÷नपाउने विषय र उपहार वितरणको पारदर्शीतालाई हेरिरहेको छ । प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार फिल्टरको मुल्य र मुनाफाबारे पनि प्रहरीले अध्ययन गरिरहेको छ ।
कम्पनीले २४ औं स्किमको सेकेण्ड स्टेजमा प्यूरिफायर वितरण नगरी अघि बढेपछि ग्राहकहरुले धाँदलीको आरोप लगाएका थिए । उनीहरुले नियम तथा शर्त नं. ५ उल्लंघन गरेको आरोपमा प्रशासनमा कारबाहीका लागि निवेदन दिएका हुन् ।‘दोस्रो चरणमा कुनै पनि सामग्री नपरी खाली हात भई आएका ११ जना ग्राहकहरुमध्ये १० जनालाई पुस्तिका तालिकामा उल्लेख भएको मोटरसाईकल तथा स्कुटरहरु गोलाप्रथाद्वारा प्रदान गरिनेछ । साथै अन्तिममा बचेको केही नपर्ने १ जना सबैभन्दा भाग्यमानी ग्राहकले स्तवः कार प्राप्त गर्नुहुनेछ ’ भन्ने शर्त उल्लंघन गरेर अर्को चरणमा प्रवेश गरेपछि ग्राहकहरुले आपत्ति जनाएका हुन् ।









