काठमाडौं ,२६ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माले निर्वाचनमा पराजित भएपनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने बताउनु भएको छ।सामाजिक सञ्जालमार्फत उहाँले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा चुनावी अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गर्नु भएको छ।
उहाँले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको संकल्प कमजोर नबनाएको लेख्नु भएको छ। ‘पदमा रहेर वा नरहेर, पार्टी र देशका दूरदराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित थिएँ र रहनेछु,’ उहाँले लेख्नु भएको छ।कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने आफ्नो प्रतिबद्धता यथावत् रहेको उल्लेख गर्दै उहाँले पार्टीभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कार स्थापनाका लागि निरन्तर प्रयास गर्ने लेख्नु भएको छ।
शर्माले लोकतान्त्रिक पद्धतिलाई जीवन्त राख्न प्रतिस्पर्धामा उत्रिएका सबै नेता, निर्वाचित पदाधिकारी तथा पार्टीका कार्यकर्तासँग सहकार्य गर्दै पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।









