पथरी, २६ असोज / दशैं भित्रिएसँगै मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा मासुको मूल्य मनपरी तोकिएको फेला परेको छ ।
नगरपालिका उपप्रमुख देवीमाया काफ्लेको संयोजकत्वको अनुगमन् समितिले पथरी बजारमा गरेको अनुगमनमा एक पसलमा खसीको मासु प्रति किलोग्राम १ हजार ८ सय रुपैयाँसम्ममा बिक्री भएको फेला पारेको छ । सालाखाला मासु १ हजार १ सय पर्नेमा हड्डी बिनाको मासुलाई १ हजार ८ सय रुपैयाँसम्म लिने गरेको पाइएपछि आफूखुसी मूल्य तोकेर उपभोक्तालाई बढी मूल्य नलिन निर्देशन दिइएको उपप्रमुख काफ्लेले जनाउनु भयो । अन्तबाट बढ्दै आएपछि मूल्य बढाउने भन्दै मासु पसलेले मूल्य निर्धारण गर्ने विधिका बारेमा स्पष्ट जानकारी नभएको जवाफ दिएका थिए ।

यसका साथै कुखुराको मासुमा पनि बजार मूल्य भन्दा प्रति किलोग्राम ४० रुपैयाँ बढी लिने पसललाई पनि सोही प्रकारको निर्देशन दिइएको उहाँले उल्लेख गर्नुभयो । कुखुराको मासु प्रति किलोग्राम ४ सय बजार मूल्य रहेकोमा ४ सय ४० रुपैयाँसम्म लिने गरेको फेला परेको छ ।
यसक्रममा अनुगमन् टोलीले मासु काट्ने र बिक्री गर्ने स्थान अलग अलग गरेर सरसफाईमा ख्याल राखेर मात्र बिक्री गर्ने चेतावनी पत्र समेत प्रदान गरेको छ । केही किराना पसलमा म्याद सकिएका सामग्री पनि फेला परेका थिए । पछिल्लो समय मासु तथा मिठाइ पसलमा गरिएको अनुगमनमा पसलमा सरसफाइमा हेलचेक्राइ देखिएको तथा मिठाइ पसलमा पेट्रोल बेच्ने गरेको अवस्था समेत फेला परेको उपप्रमुख काफ्लेले खुलाउनु भयो ।

दशैं भित्रिएसँगै बजार क्षेत्रमा अनियमितता बढ्न नदिन नगरपालिकाले केहीदिन यता अनुगमन् अघि बढाएको छ । नगरको स्वास्थ्य शाखा, इलाका प्रहरी कार्यालय, नगर प्रहरी, राजस्व शाखासहितका कर्मचारीको सहभागितामा अनुगमन् गरिएको हो ।









