ताप्लेजुङ,२७ असोज । ताप्लेजुङमा नयाँ सिजनको अलैँची बजारमा आउन थालेसँगै कारोबार सुरु भएको छ। तर, उत्पादन बजार भित्रिने क्रम बढेसँगै यसको मूल्यमा भने गिरावट आएको छ। हाल सदरमुकाम फुङलिङमा नयाँ अलैँची प्रतिमन (४० किलोग्राम ) ८४ हजार रुपैयाँका दरले किनबेच भइरहेको छ। चालु सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य क्रमशः ओरालो लागेको हो। एक साताअघि प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भएको अलैँची अहिले घटेर ८४ हजारमा झरेको स्थानीय व्यवसायीहरूले बताएका छन्।
अलैँची व्यवसायी बालमणि बरालका अनुसार हाल ओसिलो (तल्लो) क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ भने लेकाली तथा उच्च क्षेत्रमा अलैँची पाक्न अझै केही समय लाग्नेछ। सुरुआती समयमा ओसिलो क्षेत्रको अलैँचीले राम्रो मूल्य पाएको थियो, व्यवसायी बरालले भन्नुभयो त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन ८४ हजारमा झरेको छ।
ताप्लेजुङको मुख्य नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा आउने उतारचढावले किसानहरूको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। बजारमा नयाँ उत्पादन आउने क्रम अझै बढ्ने भएकाले आगामी दिनमा मूल्य थप घटबढ हुन सक्ने व्यवसायीहरूको अनुमान छ।









