पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ । उहाँका अनुसार पहाडी क्षेत्रमा टीका, जमरा र देवीपूजाले विशेष महत्त्व पाउने गरेको छ भने तराई–मधेशमा दुर्गापूजा, सामूहिक मेला, भजन–कीर्तन र रामलीलाले दशैँको सांस्कृतिक स्वरूप निर्धारण गर्छन् । दशैँ नेपाली समाजको राष्ट्रिय पर्व हो । यसले परिवारका सदस्यबीचको सम्बन्ध बलियो बनाउनुका साथै समुदायका मानिसलाई सामूहिक रूपमा जोड्ने काम गर्छ । वर्षभरि एकआपसमा भएका मनमुटाव, इर्ष्या र द्वेष बिर्सेर एकै ठाउँमा भेला हुने, पूजा गर्ने र खुसी साटासाट गर्ने अवसरका रूपमा पनि दशैँको महत्त्व रहेको उहाँले बताउनु भयो ।

 

‘दशैँको भावना पहाड र तराई–मधेशमा एउटै हो, मनाउने तरिका र सांस्कृतिक विशेषता मात्रै फरक छन्,’ राकेशले भन्नु भयो । राकेशका अनुसार तराई–मधेशमा दशैँको सुरुआतसँगै घरघरमा वा दुर्गाको प्रतिमा स्थापना गरिएको स्थानमा जौंको जमरा उमार्ने चलन छ । कतिपय स्थानमा माटोको दुर्गा मूर्ति स्थापना गरेर सामूहिक रूपमा पूजा गरिन्छ । यस्ता स्थानमा मेला लाग्ने र स्थानीय बासिन्दा भेला भएर धार्मिक गतिविधिमा सहभागी हुने गर्छन् । पहाडी क्षेत्रमा जस्तै तराई–मधेशमा पनि देवीपूजा र खानपिन दशैँका प्रमुख पक्ष हुन् । तर त्यहाँ दुर्गाको मूर्ति स्थापना गरी सामूहिक पूजा गर्ने परम्पराले विशेष स्थान पाएको उहाँले बताउनु भयो । दुर्गाको प्रतिमा स्थापना गरिएका स्थानमा दिनभरि मेला लाग्ने तथा राति भजन–कीर्तन र धार्मिक कार्यक्रम आयोजना गर्ने चलन रहेको उहाँको भनाइ छ । पहाडी क्षेत्रमा फूलपाती भित्र्याउने परम्पराले विशेष महत्त्व पाए पनि तराई–मधेशमा त्यसको स्वरूप फरक रहेको राकेशले बताउनु भयो। त्यहाँ घटस्थापनादेखि नै घर वा देवीको स्थानमा जमरा उमार्ने चलन छ ।

 

टीका र आशीर्वाद दिने चलनमा भिन्नता

पहाड र तराई–मधेशको दशैँमा देखिने अर्को भिन्नता विजयादशमीको टीका र जमरा लगाउने परम्परा हो । पहाडी क्षेत्रमा रातो टीका, जमरा र आशीर्वादलाई दशैँको प्रमुख पहिचानका रूपमा लिइन्छ । तराई–मधेशमा पनि ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिने चलन रहे पनि पहाडी क्षेत्रमा जस्तो व्यापक रूपमा टीका लगाउने प्रचलन नरहेको राकेशले बताउनु भयो ।उहाँका अनुसार पहिले तराई–मधेशका कतिपय स्थानमा ब्राह्मणहरू घरघरमा गएर जमरा लगाइदिने र दक्षिणा लिने चलन थियो । अहिले भने परिवारका ज्येष्ठ सदस्यले नै सानालाई आशीर्वाद दिने प्रचलन बढेको छ ।राकेशले टीकालाई विजय र आशीर्वादको प्रतीकका रूपमा व्याख्या गर्नु भयो। विजयादशमीले असत्यमाथि सत्य र पराजयमाथि विजयको सन्देश दिने धार्मिक मान्यता रहेको उहाँले बताउनु भयो ।

रामलीला र कुस्तीको आकर्षण घट्दै

तराई–मधेशमा दशैँका बेला आयोजना हुने रामलीला, कुस्ती प्रतियोगिता, मेला र पिङजस्ता गतिविधि परम्परागत मनोरञ्जनका महत्त्वपूर्ण माध्यम रहेको राकेशले बताउनु भयो । उहाँका अनुसार रामलीला मार्फत रामायणका पात्र, उनीहरूको चरित्र र धार्मिक शिक्षाबारे समुदायलाई जानकारी दिने गरिन्थ्यो ।त्यस्तै, गाउँगाउँमा आयोजना हुने कुस्ती प्रतियोगिता हेर्न मानिसहरू भेला हुने गर्थे । प्रसिद्ध पहलवान बोलाएर प्रतियोगिता आयोजना गर्ने चलनसमेत रहेको उहाँले बताउनु भयो । तर अहिले रामलीला र कुस्तीका कार्यक्रम घट्दै गएका छन् । पिङ खेल्ने परम्परा पनि क्रमशः कमजोर हुँदै गएको उहाँको भनाइ छ ।पहिले गाउँघरमा मनोरञ्जनका साधन सीमित हुँदा मेला, भजन–कीर्तन, रामलीला र कुस्तीले समुदायलाई एकै ठाउँमा भेला गराउने गर्थे। आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीसँगै त्यस्ता परम्परागत गतिविधिको आकर्षण घट्दै गएको उहाँले बताउनु भयो।

बलिप्रथामा आस्था र विरोध दुवै

तराई–मधेशमा दशैँका बेला पशुबलि दिने परम्परा पनि प्रचलित रहेको राकेशले बताउनु भयो । अष्टमी र नवमीमा खसी, बोका, हाँस तथा परेवाको बलि दिने र त्यसको मासु प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको उहाँको भनाइ छ ।उहाँका अनुसार कतिपय समुदायले मनोकामना पूरा भएपछि देवीलाई बलि चढाउने धार्मिक विश्वास राख्छन् । बलिप्रथाको विरोध हुँदै आएपनि धार्मिक आस्था र परम्परासँग जोडिएकाले यो चलन पूर्ण रूपमा हट्न नसकेको उहाँले बताउनु भयो ।यद्यपि, पशुबलिलाई धार्मिक आस्थाका रूपमा मात्रै नभई जीवहत्याको पक्षबाट पनि हेर्नुपर्ने राकेशको भनाइ छ । बलिप्रथाको विरोध गर्ने र समर्थन गर्ने दुवै पक्ष रहेकाले यस विषयमा सामाजिक तथा सांस्कृतिक संवेदनशीलता जोडिएको उहाँले बताउनु भयो ।

दशैँले बजार र स्थानीय व्यापारलाई पनि चलायमान बनाउँछ

दशैँको धार्मिक र सामाजिक महत्त्वसँगै आर्थिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण रहेको राकेशले बताउनु भयो । पर्वका लागि आवश्यक खाद्यान्न, मसला, पूजासामग्री, लत्ताकपडा र अन्य वस्तु खरिद गर्न मानिसहरू बजार जाने भएकाले दशैँमा स्थानीय हाटबजार र व्यापार चलायमान हुने उहाँको भनाइ छ ।विशेषगरी तराई–मधेशका गाउँमा लाग्ने साप्ताहिक हाटबजारले स्थानीय उत्पादनको बिक्री र उपभोगलाई जोड्ने काम गर्छन् । किसान तथा व्यापारीले उत्पादन बिक्री गर्ने र उपभोक्ताले पर्वका लागि आवश्यक सामग्री खरिद गर्ने भएकाले दशैँले स्थानीय आर्थिक गतिविधिमा योगदान पु¥याउने उहाँ बताउनु भयो ।राकेशका अनुसार दशैँ केवल धार्मिक अनुष्ठान वा खानपिनमा सीमित पर्व होइन। यसले पारिवारिक सम्बन्ध, सामुदायिक सहकार्य, सांस्कृतिक पहिचान र स्थानीय व्यापारलाई समेत जोड्छ । समयसँगै पर्व मनाउने शैली परिवर्तन भए पनि सामाजिक एकता र आपसी सद्भावको यसको मूल भावना कायम रहनुपर्ने उहाँको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।