पथरी, २९ असोज / मोरङको पथरी शनिश्चरे १ स्थित नमुना विद्यालयका रुपमा रहेको पञ्चायत मावि भूतपूर्व विद्यार्थी समाजले विभिन्न विधाबाट देशमा नाम राख्ने भूपू विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ ।
समाजको असोज ३० गते हुने प्रथम अधिवेशनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष भीमकुमार राईले समाजको नयाँ समिति चयन गर्दै सक्रिय रुपमा गतिविधि गर्ने योजना बनाइएको सुनाउनु भयो । साथै उहाँले विभिन्न विधाबाट देशमा नाम राख्ने भूपू विद्यार्थीहरुलाई सम्मान गर्ने पनि जानकारी गराउनु भयो । तर नाम चाँहि कार्यक्रममै एकैचोटी सार्वजनिक गरिने भन्दै यसक्रममा विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरुलाई समेत सम्मान गर्ने भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बरबहादुर राईले भूतपूर्व विद्यार्थी समाजको सक्रियताको शुभकामना व्यक्त गर्दै सो समाजमार्फत विद्यालयका अतिरिक्त क्रियाकलापका कार्यक्रमहरुलाई व्यवस्थित गर्दैलान सघाउ पुग्ने अपेक्षा गर्नुभयो ।









