इलाम,१६ कार्तीक । इलाम नगरपालिका–४ स्थित छ्यारछारेमा धारिलो हतियार प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार गत कात्तिक १५ गते अपराह्न करिब ४ः३० बजेको समयमा स्थानीय ३२ वर्षीय सुवास लोहारमाथि साङ्घातिक आक्रमण भएको हो। घटनालगत्तै सक्रिय भएको प्रहरी टोलीले संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारलाई तत्काल नियन्त्रणमा लिएको छ।
धारिलो हतियार प्रहारबाट सुवासको गाला, टाउको तथा खुट्टामा गहिरो चोट लागेको छ। रक्ताम्य अवस्थामा उद्धार गरिएका उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्याइएको थियो। घाइतेको हाल सोही अस्पतालमा उपचार भइरहेको छ।घटनाको कारणबारे अनुसन्धान जारी रहेको र पक्राउ परेका तीनै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।










