काठमाडौं,२९ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताँउनु भएको छ।विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पार्नु भएको छ ।सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने भन्दै उहाँले सम्बन्धित विषयमा निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताँउनु भयो ।
उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीज्यूले केही कुरा गलत भइरहेको छ र अब एक्सन लिनुपर्छ भन्ने महसुस गर्नुभयो भने उहाँले चाल्ने कदममा पार्टीको सम्पूर्ण समर्थन रहन्छ ।’गृहमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार तथा सरकारका अन्य व्यक्तिहरूका विषयमा सार्वजनिक रूपमा उठिरहेका प्रश्नहरू पार्टीको औपचारिक छलफलमा प्रवेश नगरेको पनि उहाँले बताँउनु भयो । ती विषयमा प्रधानमन्त्रीले के सोचिरहनुभएको छ र सरकारले के गरिरहेको छ भन्ने विषयमा पार्टीले प्रतीक्षा गरिरहेको उहाँले बताँउनु भयो ।सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गर्दै खरेलले सभापति, महामन्त्रीसहित पार्टीको नेतृत्व र सम्पूर्ण टोली सरकार सञ्चालनमा कुनै अवरोध वा हस्तक्षेपको महसुस नहोस् भन्नेमा सचेत रहेको बताँउनु भयो ।
त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई हटाउने वा राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको उहाँले स्पष्ट पार्नु भयो । आईजीपीलाई हटाऊ वा राख भनेर पार्टीले निर्देशन नदिएको भन्दै उहाँले यो सरकारको विवेक र निर्णयको विषय भएको बताँउनु भयो । उक्त विषय अदालतसम्म पुगेको र कतिपय प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारले आवश्यकताअनुसार थप स्पष्ट पार्दै जाने उहाँले उल्लेख गर्नु भयो ।यसैबीच, रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा मित्रराष्ट्र चीन भ्रमणमा जान लागेको प्रवक्ता खरेलले जानकारी दिनु भयो । चीनको सत्तारुढ दलले रास्वपालाई निमन्त्रणा गरेको उल्लेख गर्दै उहाँले यो भ्रमण दुई देशका सत्तारुढ दलबीचको निमन्त्रणाअनुसार हुन लागेको बताँउनु भयो ।










