बिर्तामोड,२९ कार्तीक । बिर्तामोडस्थित एक होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका–४ उर्वसी टोलस्थित होटल अम्ब्रेलाबाट उनीहरू पक्राउ परेका हुन्।प्रहरीका अनुसार शनिबार राति करिब ८ बजे होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब निरीक्षक रमेश खनालको कमान्डमा टोली खटिएको थियो।
प्रहरी टोलीले छापा मार्दा तास खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–१० का ४४ वर्षीय निर्मल श्रेष्ठ, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का २६ वर्षीय अनिष आचार्य, पाँचथरको च्याङथापुका ४० वर्षीय देशभक्त राई र बिर्तामोड नगरपालिका–३ का ४६ वर्षीय कोकुलबहादुर थापा रहेका छन्।प्रहरीले उनीहरूको साथबाट एक बुङ तास र नेपाली रुपैयाँ ८९ हजार ९ सय बरामद गरेको जनाएको छ।होटल अम्ब्रेलामा नियमित रूपमा जुवातास खेलाउने गरिएको सूचनापछि निगरानी बढाएर छापा मारिएको प्रहरीले बताएको छ। पक्राउ परेका चारै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।










