इटहरी,२९ कार्तीक । सुनसरीको गढी गाउँपालिकाबाट भन्सार छली गरी ल्याइएका १ लाख ६१ हजार ९ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ ।
गढी गाउँपालिका–२ औराबनीस्थित इँटाभट्टा नजिक शनिबार साँझ प्रहरीले लत्ताकपडा तथा जुत्ता–चप्पल बरामद गरेको हो । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा सामान राखिएको बोरा बाटोमै फालेर चालक फरार भएका थिए । प्रहरी टोलीलाई देखेपछि चालक मोटरसाइकलसहित भागेका हुन् ।फालिएको बोराभित्र लत्ताकपडा र जुत्ता–चप्पल फेला परेपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । फरार मोटरसाइकल चालकको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।










