अमेरिका| २६ साउन | विश्व भूटानी साहित्यिक संगठन (GBLO) द्वारा सञ्चालित ‘GEP अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ भर्ना दर्ता कार्यक्रम जुम (Zoom) मार्फत सम्पन्न भएको छ।
अगस्ट ९, २०२६ को साँझ ८:३० बजेदेखि आयोजित कार्यक्रममा विश्वका विभिन्न स्थानमा रहेका नेपालीभाषी बालबालिकालाई मातृभाषा, साहित्य तथा संस्कृतिसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालित अनलाइन कक्षाको २०२५–२६ सत्र सफलतापूर्वक सम्पन्न भएको अवसरमा उत्तीर्ण विद्यार्थीहरूलाई परीक्षाफल हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा शिक्षिका खगेन्द्रा खुसीले अध्यापनका क्रममा आफ्ना अनुभव साझा गर्दै विद्यार्थीहरू सिर्जनात्मक तथा कलात्मक हुनुका साथै नेपालीपनलाई आत्मसात् गर्दै अघि बढिरहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूको परीक्षाफलसमेत सार्वजनिक गर्नुभयो।
त्यस्तै, शिक्षिका रिमा श्रेष्ठले GBLO सँग आबद्ध भएर नेपाली भाषा शिक्षालाई अघि बढाउने अवसर पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीहरूको नतिजा घोषणा गर्नुभयो। विगत सात वर्षदेखि GBLO सँग निरन्तर नेपाली भाषा शिक्षाको क्षेत्रमा सहकार्य गर्दै आउनुभएका शिक्षक लोकनाथ खनालले पनि परीक्षाफल सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रमका क्रममा सूचना प्रविधि संयोजक पुष्कर धितालले विश्व शिक्षा कार्यक्रम (GEP) को नयाँ वेबसाइट ourgep.org सार्वजनिक गर्नुभयो। उहाँले GBLO सँग आबद्ध भएर काम गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्नुभयो। सोही अवसरमा सन् २०२६–२७ का लागि अनलाइन नेपाली कक्षाको भर्ना तथा दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको घोषणा गरिएको थियो।
साहित्यकार धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ले प्रवासमा रहेर पनि नेपाली भाषाको उत्थानका लागि निरन्तर क्रियाशील GBLO र GEP लाई आगामी दिनमा पनि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
भुटानी शरणार्थी शिविर स्थापना कालदेखि बेलडाँगी–१ स्थित ग्रीन भ्याली एकेडेमीमा लामो समय प्रधानाध्यापकका रूपमा सेवा गर्नुभएका कार्यक्रमका प्रमुख अतिथि एनपी कोइरालाले शिक्षा जीवनभर सिक्ने र सिकाउने निरन्तर प्रक्रिया भएको बताउनुभयो। उहाँले वर्तमान तथा भावी विद्यार्थी, अभिभावक, GBLO र GEP टोलीप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्वविद्यार्थी ईसान धितालले नेपाली भाषामै मन्तव्य राख्नुभएको थियो। छ वर्षीया विद्यार्थी कृयाना फूयालले प्रस्तुत गरेको विशेष प्रस्तुतिले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रमको सभापतित्व GBLO का संस्थापक अध्यक्ष, GEP का प्रमुख संस्थापक तथा स्वीकारोक्ति दर्शनका प्रतिपादक डेन्जोम साम्पाङले गर्नुभएको थियो। उहाँले, “भाषिक एकताभन्दा ठूलो शक्ति अन्त कतै हुन सक्दैन भन्ने उदाहरण हामी नै हौँ,” भन्दै कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
आयोजकहरूले आगामी सत्रलाई अझ प्रभावकारी, व्यवस्थित तथा प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्। साथै, अभिभावकहरूलाई आफ्ना बालबालिकालाई सन् २०२६–२७ को नयाँ सत्रका लागि समयमै दर्ता गराउन आह्वान गरिएको छ।









