काठमाडौं , १० असोज। नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले पार्टीलाई नयाँ ऊर्जा र संकल्पका साथ १५औँ महाधिवेशनमा होम्न लागिएको बताउनुभएको छ।महाराजगञ्जस्थित चुनदेवी सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संयोजक कोइरालाले नेपाली कांग्रेस बलियो वैचारिक धरातल बोकेको ऐतिहासिक पार्टी भएको स्मरण गराउनुभयो। “नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो,” उहाँले भन्नुभयो, “पुरानो भन्दैमा फाटेको वा कमजोर होइन, पुरानो इतिहासमा नयाँ जोश भरेर हामी अघि बढ्दैछौँ।”
महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताको ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसले हामीलाई अगाडि बढ्न थप शक्ति र गतिशीलता (इम्पिटस) प्रदान गर्छ। यसलाई भव्य रूपमा सफल बनाउन म सबैको साथ र सहयोगको अपेक्षा गर्दछु।”संयोजक कोइरालाले वर्तमान समय पार्टी र इतर समूह दुवैका लागि कडा परीक्षाको घडी भएको औँल्याउनुभयो। “यो हाम्रो निष्ठा र क्षमताको परीक्षणको समय पनि हो, त्यसैले यो महाधिवेशन हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण छ,” उहाँले प्रस्ट्याउनुभयो।पार्टीभित्रका जटिल परिस्थितिलाई अत्यन्त गम्भीरतापूर्वक लिएर आफूहरू अघि बढिरहेको बताउँदै उहाँले आन्तरिक एकतामा जोड दिनुभयो। “हामी अत्यन्त जिम्मेवार र गम्भीर भएर अगाडि बढेका छौँ। हाम्रो एउटै चाहना छ— सबै सँगै हिँडौँ, सबै एकताबद्ध भएर अघि बढौँ,” उहाँले भन्नुभयो।









