नेपालमा हवाइ भाडा : बालेनको स्टाटसलाई गिज्याउने धनगढी–काठमाडौं भाडादर

काठमाडौं,२२ असोज । गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका दौरानमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हालका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले ‘सुदूर अब दूर नाइ’ भन्दै सामाजिक सञ्जालमा लेख्नु भएको थियो । चुनावी आमसभामा सुदुरपश्चिम र जनकपुरको खुलेर प्रशंसा गर्नु भयो। मतदाता आकर्षित गर्न बालेन जहाँ पुगे त्यस स्थानको तारिफ गर्न छुटाउनु भएन् ।

तर दशैंको मुखमा हवाई भाडा दर साँच्चै अत्यासलाग्दो छ । वास्तवमा यतिबेला हवाई भाडाको दृष्टिले सुदूरपश्चिम अझै टाढै रहेको देखाएको छ । काठमाडौं–धनगढीको हवाई भाडा महँगो हुँदा भारतका विभिन्न सहरसम्म पुग्न तुलनात्मक रूपमा सस्तोपर्ने अवस्था छ । यातायात सहज र सुलभ हुनुपर्ने सुदूरपश्चिममा हवाई भाडा नै महँगो भएपछि सर्वसाधारण मारमा परेका छन् ।

दशैं नजिकिएसँगै राजधानी काठमाडौंमा घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । तर, घर जाने तयारीमा रहेका यात्रुका लागि यसपटकको दशैं यात्रा सहजभन्दा पनि महँगो बन्दै गएको छ । सडकमार्गमा लामो यात्रा र सडकको अनिश्चितताका कारण यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भए पनि हवाई टिकटको चर्को मूल्यले उनीहरूलाई थप समस्यामा पारेको छ ।

विशेषगरी काठमाडौं–धनगढी हवाई यात्राको भाडा महँगो भएपछि सुदूरपश्चिम घर जाने यात्रुहरू अन्योलमा छन् । बसको यात्रा लामो र सडकको अवस्था अनिश्चित रहेको भन्दै कतिपय यात्रुले महँगो भए पनि हवाई टिकट खोजिरहेका छन् । तर, टिकटको मूल्य सुनेपछि कतिपयले हवाई यात्रा नै रद्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

बाजुरा जाने तयारीमा रहेका हिमाल विष्ट काठमाडौं–बाजुरा बस भाडा करिब ५ हजार ६ सय रुपैयाँ रहेको बताउँछन तर, सडक बिग्रिएमा तोकिएको समयमा घर पुग्न नसकिने उनको चिन्ता छ । उनले भने,‘बाजुराका लागि काठमाडौंँबाट बस भाडा ५ हजार ६ सय रहेछ । तर बाटो बिग्रियो भने दुई दिनमै पुगिन्छ भन्ने छैन । ड्राइभरले पनि दुई दिनमा पुग्नैपर्छ भन्ने ग्यारेन्टी गर्न सक्दैन । मलाई भने दुई दिनमै घर पुग्नुपर्ने छ ।’

बाजुरा सदरमुकाम मार्तडीसम्म बस पुगे पनि त्यहाँबाट आफ्नो घरसम्म थप दुई दिन हिँड्नुपर्ने भएकाले आफूलाई झनै समस्या भएको विष्ट बताउँछन त्यसैले उनले धनगढीसम्मको हवाई टिकट हेरेका थिए । तर, टिकटको मूल्य करिब २२ हजार ९ सय रुपैयाँ पुगेपछि उनी झनै अन्योलमा परेका छन् ।

‘प्लेनको टिकट धनगढीसम्म २२ हजार ९ सय रहेछ, अति महँगो भयो। जाने कसरी भन्ने दोधारमा छु । घरसम्मै २२ हजारमा पुग्ने भए त ठीक थियो, त्यो भाडा धनगढीसम्मको मात्रै हो,’ उनले भने ।

यस्तै, प्रदीप कार्कीका लागि भने यसपटकको यात्रा रोजाइभन्दा पनि बाध्यता बनेको छ । घरमा बुवा बिरामी रहेकाले जतिसक्दो छिटो घर पुग्नुपर्ने अवस्था भए पनि हवाई टिकटको महँगो मूल्यले उनलाई समस्या परेको छ ।

‘बाध्यताले भए पनि जानै पर्नेछ । घरमा बुवा बिरामी हुनुहुन्छ, मलाई छिटो पुग्नु थियो । प्लेन टिकट साह्रै महँगो रहेछ, उनले भने ।

उनले आफूजस्तै बाध्यतामा रहेका यात्रुका लागि दशैंको समयमा यातायात सहज र पहुँचयोग्य बनाउनुपर्ने बताए । अर्की यात्रु गरिमा शाहाले पनि घरबाट छिटो आउन दबाब आएपछि हवाई टिकट काट्ने तयारी गरेकी थिइन तर, टिकटको मूल्य महँगो भएपछि उनले आफ्नो टिकट नै रद्द गर्नुपरेको सुनाइन

‘घरबाट छिटो आउनु भन्नुभएको छ । प्लेनको टिकट काटेर छिटो आउँछु भनेकी थिएँ । तर भाडा महँगो भएपछि प्लेनको टिकट नै रद्द गर्नुपर्यो,’ उनले भनिन् ।

दशैंमा देशका विभिन्न ठाउँबाट काठमाडौं आएका नागरिक घर फर्किनेक्रम बढ्दै गर्दा यातायातको भाडा र यात्राको सहजता अहिले प्रमुख चासो बनेको छ । विशेषगरी सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा जाने यात्रुका लागि सडकको अवस्था, लामो दूरी र सीमित हवाई सेवा मुख्य चुनौती बन्ने गरेको छ ।

यहीबीच, चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई’ लेख्नु भएको थियो । उहाँको उक्त अभिव्यक्ति सुदूरपश्चिम यात्राका क्रममा सार्वजनिक भएको थियो ।

तर अहिले दशैंमा घर फर्किन खोजिरहेका सुदूरपश्चिमका नागरिक भने महँगो यातायात खर्च र लामो यात्राको बाध्यतामा छन् । त्यसैले यात्रुहरूले प्रश्न गर्न थालेका छन् । ‘सुदूर अब दूर नाई’ भन्ने भाव व्यवहारमा पनि कहिले देखिने रु

यता बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले हवाई भाडा महँगो नभएको दाबी गर्छन । उहाँले यात्रुहरुलाई कुनै पनि ठाउँबाट नठगिन आग्रह गर्दै बुद्ध एयरको आधिकारिक वेबसाइटमा गएर भाडादर हेरेर मात्र टिकट काट्न अनुरोध गर्नु भएको छ।

यात्रुहरूले दशैंको समयमा हवाई तथा सडक यातायातको भाडा सहज बनाउन, यात्रुको चापअनुसार पर्याप्त यातायात व्यवस्था गर्न र सडकमार्गको अवस्था सुधार गर्न सरकारसँग माग गरेका छन् घर फर्किने नागरिकलाई आर्थिक भार नपर्ने गरी यातायात व्यवस्थापन गर्न सके मात्रै दशैंको यात्रा सहज बन्ने उनीहरूको अपेक्षा छ ।
सन्तोषी रावल, नेपाल न्यूज बैँक

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल