दमक, ९ साउन/ दमक नगरपालिका वडा नम्बर ८ किरात चोकबाट करिब ७० मिटर दक्षिण झरेपछि पूर्व तर्फ हेर्दा एउटा निजी विद्यालय देखिन्छ । यो विद्यालयको नाम हो ‘गड मदर एकेडेमी टेक्नोलोजी विद्यालय’ ।
आमालाई भगवान मान्नु पर्छ भन्ने भावना समेटिएको यो विद्यालयको नाम र काममा भने फरकपन पाइएको छ । यो विद्यालय भएको जमिन न कुनै व्यक्तिको हो, न यही विद्यालयको । जमिन हो त सरस्वती माद्यमिक विद्यालय दमक ९ इँटाभट्टाको । यसले बिना अनुमति वर्षौंदेखि सरस्वती माविको जमिन हडपिरहेको छ ।
२०६८ सालमा सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बस्नेत र प्रधानाध्यापक दिलीप श्रेष्ठको पालामा तात्कालिन दमक १३ निवासी भोला ओझालाई त्यहाँ बाल कक्षासम्मको निजी विद्यालय सञ्चालन गर्न र संरचना बनाउँदा अस्थाई बनाउने सर्त सहित सम्झौता गरिएको थियो ।
५ वर्षको सम्झौता अवधि राखिएकोमा अहिले १३ वर्ष बितिसक्यो । यो बिचमा गड मदरले सम्झौता थप गर्ने प्रस्ताव गरेपनि सरस्वती माविले सम्झौता नथप्ने र त्यो ठाउँ खाली गर्न भन्दै लिखित तथा मौखिक जवाफ दिइनै रह्यो । यो क्रम अझैपनि चलिरहेको छ ।
५ वर्षे सम्झौतामा प्रति कट्ठा एक हजार ५० रुपैँया रकम लिने भन्दै गड मदरलाई ५ कट्ठा जमिन प्रयोग गर्न दिने उल्लेख भएको देखिन्छ । तर सो सम्झौताको अवधि सकिएकै ८ वर्ष बितिसकेकोले त्यहाँदेखि यता न भाडा प्राप्त भएको छ न जग्गा नै । त्यो बेला सम्झौता गरिएका गड मदरका सञ्चालक ओझाको निधन भइसकेको छ ।
विद्यालय र दमक नगरपालिका समेतले ठाउँ खाली गराउन पत्राचार गर्दा पनि जरा गाडेर बसेको यो विद्यालय अहिले पनि टसमस भएको छैन । सरकारी निकायबाटै ठाउँ खाली गर्न भन्दै पत्राचार हुँदा समेत ठाउँ खाली नगराउनुलाई विद्यालयका सञ्चालकले सरकारलाईनै ‘लु उठाएर त देखा त’ भन्ने भाष्य सहित चुनौति दिएको बुझ्न कुनै अप्ठ्यारो छैन ।
गड मदरले प्रत्येक वर्षजसो अबको शैक्षिकशत्र सकिएपछि छोड्ने भन्दै प्रत्येक वर्ष टार्दै आएको छ । पछिल्लो पटक पनि चालु शैशिक सत्र यहाँ सुरु नगर्ने भनेर प्रतिवद्धता जनाएको थियो । तर यो शैक्षिकसत्र समेत निस्फिक्रि सञ्चालन गरेपछि यसका सञ्चालक सागर सुब्बालाई कुनै न कुनै राजनीतिक संरक्षण छ भन्ने कुराको आधार बलियो बन्दै गएको छ । कुन दलका कुन नेताको संरक्षणमा सरकारी सम्पत्ति दोहन गर्ने आँट गरिरहेका छन् त्यो त अहिले खुलेको छैन । तर सरकारी निर्देशन नै नमान्नुले सञ्चालकलाई राम्रै ढाडस पाएको बुझ्न सकिन्छ ।
सरस्वती माविको विद्यालय व्यवस्थापन समितिले चालु शैक्षिक सत्र सुरु नगरी समयमै गड मदरलाई अन्यत्रै स्थानान्तरण गर्न सूचित गर्दै त्यसो नभएमा डोजर लगाएर त्यहाँ निर्मित संरचना हटाउने चेतावनी सहितको सार्वजनिक सूचना नै प्रकाशन गरेको थियो । तर यो चेतावनीलाई समेत विद्यालयका सञ्चालक सुब्बाले वास्ता नगरेको विद्यालय व्यवस्थापन समितीका कार्यवहाक अध्यक्ष पुण्य प्रसाद भट्टराईले बताउनु भयो ।
विद्यालयको चेतावनीलाई गड मदरले कुनै वास्ता नगरेपछि सरस्वती मावि परिवार दमक नगरपालिकाको कार्यपालिका बैठकमै आफ्ना कुरा राख्न पुगेको थियो । यसरी एउटा सरकारी सस्थाको नाममा रहेको जमिन निजी क्षेत्रले हडपेको देखिरहँदा समेत यसको संरक्षणमा पालिका सरकार किन गम्भीर नभएको भन्दै बैठकमै प्रश्न उठाइएको थियो । नगरपालिकाले साउन ७ गतेको कार्यपालिका बैठकमा समेत यसलाई एजेण्डाको रुपमा राख्दै छलफल गर्ने र एउटा निणर्यमा पुगिने विद्यालय व्यवस्थापन समिति प्रतिनिधि, प्रधानाध्यापक सहित शिक्षक प्रतिनिधि, पूर्व विद्यार्थीहरुलाई आश्वासन दियो । र उनीहरु फर्केका थिए । के भयो त निणर्य ? नगरका प्रवक्ता तथा वडा नम्बर ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल दिपेशका अनुसार यही जग्गाको छानविन गर्ने सम्बन्धमा बनेको कार्यदललाई आगामी कार्यपालिकाको बैठक सम्ममा प्रतिवेदन पेष गर्न समय दिने र सो प्रतिवेदन पछि थप प्रकृया अघी बढाउने निणर्य भएको छ ।
२०२१ सालको नक्सा अनुसार सरस्वती माद्यमिक विद्यालयको जमिन १३ बिगाह भन्दा धेरै थियो । तर हाल यो घटेर ९ बिगाहमा झरेको छ । यसरी संस्थाको सार्वजनिक जमिनमा केही स्वार्थी समूहको नजर परेपछि निरन्तर घटिरहेको हो । विद्यालयले आफ्नो सम्पत्तिको संरक्षण गर्न नसक्ने भन्दै २०७८ सालमा संरक्षण सहित उत्पादनमूलक काममा प्रयोग गरी आम्दानी गराइदिन नगरपालिकासँग सम्झौता पनि गरेको छ । तर नगरपालिकाले न संरक्षण गर्न सक्यो, न गुमेको जमिन फिर्तानै गरायो । बरु नगरपालिकाले आफु अनुकुल विभिन्न संरचना बनाउँदै आफ्नो आवश्यकता पुरा गरेको भन्दै विद्यालयले नगरप्रति आपत्ति जनाएको छ । जग्गा दिनदिनै हड्प्ने क्रम बढेको र संरक्षणमा नगरको भूमिका नरहेको भन्दै नगरपालिकासँगको सम्झौता रद्ध गरेर सो सम्पत्तिको संरक्षण तथा प्रयोग गर्ने अधिकार विद्यालयलाईनै फर्कादिन पनि माग राखिएको छ ।
सरस्वती माविले अहिले नयाँ संरचना निर्माण गर्न भन्दै विद्यालय भएको परिसरका पुराना भवन भत्काइरहेको छ । नयाँ भवन बनाउन ठेक्का लागिसकेको छ । दमक ८ मा रहेको सरस्वती माविकको खाली जमिनमा सीपमूलक प्राविधिक विषयको क्याम्पस सञ्चालन गर्ने योजनामा विद्यालय रहेकोले सो जग्गा फिर्ता गर्नु पर्ने माग राखिएको हो ।
। तर सार्वजनिक सम्पत्तिमा निजी व्यक्ति तथा समूहबाट दोहन भइरहेको स्थितिमा विद्यालयले देखेको त्यो सपना कसरी साकार होला ? विद्यालयका लागि अहिले निकै ठूलो चुनौति बनेको देखिन्छ ।