दमक, १५ साउन / दमक नगरपालिका वडा नं ३ भौगोलिक रुपमा पूणर् ग्रामिण वडा हो । यहाँका अधिकांश बासिन्दाको मुख्य पेशा कृषि हो । उनीहरु आफ्नो उत्पादनलाई दमकको बजारसम्म ल्याएर बेच्ने र केही पैसा आर्जन गरेर घरव्यवहारको गर्जो टार्दै आफ्नो गुजारा चलाउँदै आएका छन् ।
तर कृषि उपजलाई बजारसम्म ल्याउन अनि व्यापारीहरु पनि कृषि उपजलाई खरिद गर्न जान सहज सडक यातायातको आवश्यकता पर्दछ । यसले किसानको उत्पादन लागतमा केही कमी ल्याउन सक्छ र आम्दानीमा बृद्धि गराउन सकिन्छ । अनि विरामी पर्दा अस्पतालसम्म पुग्न तथा अध्ययन अध्यापन सहित रोजगारीका लागि जान आउन सडक व्यवस्थापन ज्यादै महत्वपूणर् ठहर्छ ।दमक नगरपालिका वडा नं ३ मा अघिल्लो आर्थिक वर्षसम्ममा कहाँ कहाँ कति काम भएका छन् ? केहि प्रतिनिधिमूलक योजनाहरुको तथ्य यहाँ प्रस्तुत गरिएको छ ।
१) मावा तटबन्ध ः
मावा नदीको पूर्व तर्फ बाँध निर्माण गर्ने काम धमाधम भइरहेको छ । वडा सरकारको पहलमा नेपाल सरकारको बजेट मार्फत यहाँ जनताको तटबन्धनले बाँध निर्माण गर्ने काम गरेको हो । यहाँ करिब १० किलोमिटर आवश्यक पर्ने मध्येमा ५ किलोमिटर बाँध बाध्ने काम सकिएको र बाँकी क्षेत्रमा क्रमागत रुपमा अघि बढ्ने जनाइएको छ । यसले यो क्षेत्रका नागरिकको जिउ धन जोगिनुका साथै डुबानबाट हुने अन्य समस्याको निरुपण भइरहेको आफूहरुले अनुभूति गरेको स्थानीय सन्त तामाङले बताउनु भयो ।
२) दूधे खोलामा दुईवटा कल्भर्ट
१८ लाख ९३ हजार रुपैयाँको लागतमा ढुङ्गे कल्भर्ट निर्माण कार्य सम्पन्न भएको छ । यसमा स्थानीयबासी आफैले ३ लाख ९३ हजार बराबरको श्रमदान गरे । बाँकी बजेट दमक नगरपालिकाले वडाका लागि विनियोजन गरिदियो । अनि बन्यो यो खोलाको दुई ठाउँमा कल्भर्ट । यहाँ खास गरी बर्खा याममा ठूलो भेल आउँछ । यहाँ आएको भेलका कारण वारी र पारीको सम्पर्क नै टुटाइदिन्छ । विद्यार्थीहरु विद्यालय जान रोकिन्छन् । कोही बिरामी भएभनें समययमा उपचार पाउन गाह्रो । तर अव भने स्थानीयको सक्रियतापछि कल्र्भ बन्दा त्यो समस्या हटेको छ । बालबालिकाको पढाई रोकिने समस्या नहुने बताउँदै पुष्पा राईले खुसी व्यक्त गर्नुभयो ।
३) बेतना शीरको सडक
दमक ३ स्थित बेतना खोलाको शीरमा सडक निर्माण सम्पन्न हुँदा दुई गाउँको दुरी घटाएको छ । आवागमन सहज बनाउनुका साथै उत्पादनलाई मुख्य सडकमा ल्याएर सहरसम्म पुर्याउन किसानलाई सहज भएको छ । कुनै बेला विरामी पर्दा विद्यालय समेत जान अप्ठ्यारो हुने यी ठाउँमा अहिले दुवै तर्फ ड्रेन सहित सडक निर्माण गरिँदा सहज भएको स्थानीय होमनाथ प्याकुरेल र मनु श्रेष्ठले भावना राख्नुभयो ।
४) चुलाचुली ढुङ्गे सडक
दमकको गौरवको योजनामा परेको दमक ३ स्थित चुलाचुली ढुङ्गे सडक खण्ड निर्माण करिव अन्तिम अवस्थामा पुगेको छ । लामो समयको प्रतिक्षा र निर्माण सम्पन्न गराउन गरिएको स्थानीय पहलले सार्थकता पाउँदै यो सडकमा यो बर्खामा हिलो रहित यात्रा गर्न पाइने बनेको छ । छुट्टै साइकल लेन सहित निर्माण गरिएको यो सडकले झापाको दमक नगर, इलामको चुलाचुली र माङसेबुङ गाउँपालिकालाई जोड्ने छ । तीन जील्लाका नागरिकको यात्रालाई सहज बनाउने यो सडकले किसानका उत्पादनलाई सहजै बजार पुर्याउन मद्धत गर्नुका साथै कृषिमा व्यवसायीकरण बढ्ने विश्वास गरिएको मानबहादुर कुरुङवाङले उल्लेख गरे ।
५) स्वास्थ्य चौकी पूर्वको होलीमा कल्भर्ट निर्माण
स्वास्थ्य चौकी बन्यो । तर यहाँ रहेको होलीमा बाह्रैमास आउने पानीका कारण आवामगनमा समस्या बनेको थियो । यहाँ आवागमन् सहजताका लागि आरसीसी कल्भर्ट निर्माण सम्पन्न भएको छ । ३३ लाख ९० हजार रुपैँयाको लगानीमा ६ महिनाको अवधिमै निर्माण सम्पन्न भएको छ । कल्भर्ट निर्माण भएपछि स्थानीयका लागि यही सडक र कल्भर्ट पार गर्दै स्वास्थ्य चौकी पुग्न र मधुमल्ला जान समेत छोटो दूरी बनेको बताउनु भयो स्थानी पहलमान विश्वकर्माले ।
६) चुलाचुली मधुमल्ला सडक
दमक ३ स्थित चुलाचुली माद्यमिक विद्यालयको उत्तर तर्फबाट पश्चिम जाने सडक धमाधम बनिरहेको छ । २०२८ साल अघिकै पुरानो यो सडकलाई अहिले मधुमल्लासम्म जोड्नेगरिको काम भइरहेको छ । कुनै बेला मधुमल्ला जानुपर्दा छोटो बाटोको रुपमा प्रयोग गरिने यो सडक अहिले स्थानीयवासीको सक्रियता र वडाको नेतृत्वमा सडक बनिरहेको हो । दमकबाट मधुमल्ला जाने पुरानो बाटोले बल्ल पूणर्ता पाएकोमा स्थानीय पनि दङ्गको राजु बुढाथोकीको बुझाई छ ।
७) दापगाँछीको कावेली टोलको सडक
दमक ३ स्थित दापगाछी । यहाँ बनेको दमक बिजनेश टावर अर्थात भ्यू टावरका कारण चर्चित छ । यही दागगाँछीको कावेली टोलबाट भ्यू टावरसम्म जाने बाटो निर्माण भइरहेको छ । यो सडक निर्माण सम्पन्न भएपछि दापगाछीको कावेली टोल हुदै भ्यू टावर जानेहरुकालागि छोटो बाटो बन्ने छ । यसबाट बजार निस्कने सडकसँग समेत लिंक गराइएको हुनाले यसबाट स्थानीयलाई सहज हुने विश्वास गरिएको छ ।
साथै यही सडकको पश्चिम तर्फ मावा खोला जाने तर्फपनि सडक निर्माण भइरहेकोछ । यो पटक ग्राभेल हालेर बर्खामा आवात जावत गर्न सहज बनाइएको बताउँदै सूर्य मिश्र भन्नुहुन्छ ‘हाम्रो गाउँमा अब त निकै सजिलो बन्दै गएको छ ।’
८) जमदार टोलको भ्यू टावर जाने सडक
दमक ३ स्थित जमदार टोल । यो धिमालहरुको बसोबास भएको क्षेत्र हो । यहाँका बासिन्दालाई बजारसम्म निस्किने मुख्य सडक भेट्न नयाँ बाटोको खाँचो छ । त्यही खाँचोलाई पूर्ति गर्न वडाकै बजेटमा यहाँ बाटो निर्माण भएको छ । साथै यो बाटोलाई टोलको उत्तर तर्फ भ्यू टावर समेत रहेकोले त्यहाँसम्म जोड्ने काम पनि भएको छ । भ्यू टावरको पश्चिम तर्फ पुग्न सकिने गरी बाटोको विकास गरिएपछि स्थानीयवासी पनि विकासको उज्यालो मुहार देखेर खुसी छन् । त्यो खुसी सरु धिमालले समेत व्यक्त गरिन् ।
९) लक्ष्मीनारायण मन्दिर छेउको सडक
दमक ३ मा रहेको लक्ष्मीनारायण मन्दिर पूर्वमा रहेको बस्तिमा जान बाटो निकै सकसपूणर् थियो । खास गरी बर्खाको बेलामा आवातजावत नै गर्न अप्ठ्यारो हुने गरिको यो सडक अहिले वडाको बजेटबाट ग्राभेलिङको काम भएको छ । यो सडकमै जोडिएको ताराबारी डिपु चोेक सडक जोडिएकाले यहाँका किसानले उत्पादन गरेको कृषिजन्य सामग्री बजारसम्म पुर्याउन समेत सहज हुने देखिएको स्थानीय रविरत्न प्याकुरेलको भनाई छ ।
यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । यी बाहेक पनि यो वडामा अन्य धेरै ठाउँमा नागरिकको आवश्यकताका आधारमा सडक बनिरहेका छन् । पुल र कल्भर्ट बन्ने काम भइरहेको छ । यहाँ ठूलाखाले योजना जुन संघंीय सरकारबाट सञ्चालनमा छन् । तिनको भने कमै चर्चा गरिएको छ । यहाँ चर्चा गरिएका अधिकांश योजना वडा र नगरकै बजेटबाट सम्पन्न भएका हुन् ।
प्रगति हुँदै गएपनि विकासले भने पूणर्ता पाएको छैन । कतिपय ठाउँमा अझै सडकको ट्रयाक नै खोल्न बाँकी छ । चालु आर्थिक वर्षमा पनि वडाको ६० प्रतिशत बजेट यहाँ पूर्वाधार निर्माणकालागि काम गर्न छुट्याइएको छ । ग्रामिणबस्तीलाई सहजता प्रदान गर्ने हिसावले प्रभावकारी रुपमा बजेट कार्यान्वयन गरी गुणस्तरीय काम हुँदै जाओस् ।