"जनतासँग जनप्रतिनिधि"

दमक ३ को विकासमा जनताको चासो, थप व्यवस्थित गर्ने वडाध्यक्षको प्रतिवद्धता

दमक, १७ साउन / दमक नगरको ग्रामिण वडाका रुपमा रहेको ३ नम्बर वडामा भएका विकास निर्माणका साथै वडाको सेवा प्रवाहका बारेमा वडावासीले उज्जालो खबरमार्फत आकांक्षा, जिज्ञासा, प्रश्न र सुझाव राखेका छन् ।

 

 

उज्यालो खबरको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममा वडावासीको आकांक्षा, जिज्ञासा, प्रश्न र सुझावका आवाजलाई सो वडाका अध्यक्ष नवीन बरालसम्म पुर्‍याएर ती विषयमा बरालसँग बुधबार स्टुडियोमा कुराकानी गरिएको छ ।

 

स्थानीय चुडामणि पोखरेलले विद्यालयमा दिवा खाजाको रकम बृद्धि, विपन्न विद्यार्थीलाई लाभ हुने अपेक्षा सहितको जिज्ञासा राख्नुभएको थियो । सीता कार्कीले फोहोरको व्यवस्थापन र कच्ची सडकमा धुलो उडेको समस्या, शन्तमुल राईले बिजुलीको भोल्टेज कम, जंगली हात्तीको समस्या, खानेपानीको समस्याका विषयमा प्रश्न राख्नु भएको थियो । जीना धिमालले सडक बत्ती नभएका कारण हात्ती आएको नदेखिदाको त्रास उल्लेख गर्नुभयो ।
शारदा कट्टेलले खानेपानी अपुग भएको, बाटो सानो भएको, सिंचाईको अभाव भएको विषय उठान गर्नुभयो ।
भीम दाहालले आम चोकमा रहेको स्वास्थ्य चौकीको भवन जिणर् भएको निःशुल्क तोकिएका औषधीको अभाव भएको उल्लेख गर्दै त्यहाँ पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको आवाज उठाउनु भयो ।
मीना भट्टराईले सिताराम टोलमा र बौद्ध भण्डारीले उज्जालो टोलमा रहेको सडकमा अत्याधिक धुलो उड्ने भएकाले त्यसले स्वास्थ्यमा समस्या पर्न थालेको समस्या राख्नुभयो ।

 

सूर्य टोलमा सडक बनेपनि ड्रेन नभएको तथा त्यहाँको फोहोर व्यवस्थापनको काम नभएको भन्ने कुरा राजु दर्नालले राख्नुभयो ।
बन्दना राईले मावा नदीले कटान गरिरहेकाले कटान नियन्त्रणमा पहल गर्नुपर्ने स्थानीय समस्या वडाध्यक्षसम्म पुर्‍याइदिन आग्रह गर्नुभयो ।

 

वडावासीको आकांक्षा, जिज्ञासा, प्रश्न र सुझाव सुनिसकेपछि वडाध्यक्ष बरालले सडक, विजुली, खानेपानी, स्वास्थ्य, शिक्षा सहितका समस्या समाधानमा वडाको बजेटले गर्न सक्ने अवस्थामा प्रयास गर्ने र त्यसबाहेक नगर र माथिल्लो निकायमा माग राख्ने बताउनु भयो । हात्ती पीडितलाई वडाले ७ हजार रुपैयाँसम्म प्रदान गर्ने गरेको जनाउँदै हात्तीलाई रोक्न कठिनाई भएको र त्यसका लागि हात्तीमैत्री व्यवहार सहित सचेतनाको आवश्यकता रहने जवाफ दिनुभयो । हात्ती भगाउन साइरन समेत वितरण गरिएको जनाउनु भयो । वडावासीको सल्लाह र सुझाव अनुसार नै वडाको विकासलाई कसरी अगाडि बढाउने भन्ने कुरामा आफू सचेत रहेको पनि प्रष्ट्याउनु भयो । वडामा रहेका सेवालाई थप चुस्त पार्ने कुरामा आफ्नो अझै सक्रियता रहने पनि प्रतिवद्धता जनाउनु भयो । अब सुनौं भिडियोमा ः

 

Share: