बझाङ र जाजरकोटमा पहिरोले पुरिएर ७ जनाको मृत्यु

दमक, ३ भदौ / बझाङ र जाजरकोटमा पहिरोले पुरिएर सात जनाको ज्यान गएको छ ।

 

बझाङको बुङ्गल नगरपालिका १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ । राति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आशिका धामी र लक्ष्मी धामीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७ः२० बजे चारै जनाको शव पुरिएको घरभित्रबाट निकालिएको थियो ।

 

९ जना सदस्य रहेको घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतिग्रस्त बनाएको छ । पाँचजनाको भनें तत्काल जिवितै उद्धार गरिएको थियो ।

 

 

यस्तै, जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा पहिरोले घर पुरिँदा ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनिषा परियार र २ वर्षका छोराको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो ।

Share: