धार्मिक सहिष्णुता र एकताको सन्देशसहित दमकमा भव्यरुपमा श्रीकृष्ण रथयात्रा

दमक, ११ भदौ /  श्रीकृष्ण जन्माष्टमीका अवसरमा मंगलबार (आज) झापाका ६ पालिकामा श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकालिएको छ । यसक्रममा दमकको रथयात्रा भव्यरुपमा सम्पन्न भएको छ ।

 

हिन्दु सहितका धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन अनुरुप जिल्लाको दमक, भद्रपुर, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा निकालिएको हो ।

 

मध्यरातमा श्रीकृष्णको जन्म भएपछि भोलिपल्ट रथ सहितको शोभायात्रा निकाल्ने क्रममा दमकको कार्यक्रममा कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यता रहेको छ । प्रदेश सांसद होमबहादुर थापा, दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं सहितका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधिको उत्साहपूर्वक सहभागिता रहेको छ । उहाँहरुले सवै जातजाति एकसाथ सहभागि भएर भव्यरुपमा मनाइएको रथयात्राको कार्यक्रमले धार्मिक सहिष्णुता र एकताकालागि महत्वपूणर् भूमिका खेलेको जनाउनु भयो ।

 

दमकमा रहेका संघ संस्थाहरुको संस्थागत सहभागितामा यात्रामा सामेल भएको देखिन्थ्यो ।
रथयात्रा भव्यरुपमा सम्पन्न गर्न रोहित आचार्यको संयोजकत्वमा रथयात्रा व्यवस्थापना समिति निर्माण गरी यसको व्यवस्थापन गरिएको थियो । पूर्वमा विराटनगरपछिको ठूलो रथयात्रा गराउने हिसावले समितिले व्यवस्थापन गरेको अध्यक्ष आचार्यले उल्लेख गर्नुभयो । दमक ७ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो २ बजेबाट रथ निकालिएको थियो । हनुमान मन्दिर, पशुहाट, महेन्द्रराजमार्ग हुँदै चोकलाई परिक्रमा गरी फर्निचर लाइन, पशुपति मन्दिर, शंखधर चोक, आइओएम रोड, भृकुटी चोक, लाइफलाइन मार्ग, मामाचोक पूर्व फाल्गुनन्द चोकबाट दमक नगरपालिका कार्यालय नजिकबाट राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको छ ।

 

विभिन्न सांस्कृतिक झाँकी सहित रथयात्रा निकालिएको छ । रथयात्रामा सहभागिलाई घर घरबाट पुष्पअर्पण गरी भव्यता र उल्लासमय बनाइएको थियो । रथयात्राका क्रममा विभिन्न चोकमा मट्का फुटाउने कार्यक्रम सम्पन्न भयो । मुस्लिम समुदाय सहित विभिन्न संघ संस्थाबाट पानी वितरण गरिएको थियो ।

जिल्लाको सदरमुकाम भद्रपुरमा २२ औं पटक श्रीकृष्ण रथयात्रा सम्पन्न भएको रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष किरण भारतीले जानकारी दिनुभयो । श्रीकृष्ण भगवान् सवार रथको विशेष पूजा अर्चना पश्चात् भद्रपुर-५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट दिउँसो २ बजे रथयात्रा निकालिएको थियो । जिल्लामै भद्रपुरको रथयात्रा पहिलो हो । अहिले बिस्तारै अन्य पालिकाले पनि निकाल्न थालेका छन् ।

 

 

यस वर्ष रथयात्राका लागि भारत विहारको फारभिजगञ्जबाट आएकाहरुले श्रीकृष्ण ताण्डव नृत्य समेत प्रस्तुत गरे । २०५९ सालमा काठको पाङ्ग्राले बनाइएको रथ जीणर् भएपछि भद्रपुर नगरपालिकाले ८ लाख रुपैयाँ बजेट छुट्टाएर टायरको पांग्रासहित फलामले रथ तयार गरिदिएको छ ।

 

 

श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडले दोस्रो वर्ष श्रीकृष्ण रथयात्रा निकालेको छ । गत वर्ष यी दुई संस्थाले अलग अलग रथयात्रा निकालेका थिए ।

 

गौरीगञ्ज गाउँपालिकामा चौथो पटक रथयात्रा निकालेको छ । २०७५ सालमा पहिलो पटक गाडामा भगवान् श्री कृष्णको मूर्ति राखेर रथयात्रा निकालिएको थियो । समितिले दुई वर्ष अघि नै नयाँ रथ बनाएको थियो । खजुरगाछीको राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिएको थियो ।

 

त्यस्तै गौरादहमा गौरादह १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट विभिन्न झाँकीसहित निकालिएको रथ बजार परिक्रममा गरी पुनः मन्दिरमा आएर समापन भएको छ ।
झापा गाउँपालिका ६ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्गले दोस्रो वर्ष पनि गाडीमा भगवान् श्रीकृष्ण राखेर रथ निकालेको छ । सो रथयात्रा झापा ७ दयालधाम, मदरगाछ हुँदै शरणामती बजार परिक्रमा गरेर पुनः मन्दिरमा पुगेर समापन गरिएको छ ।

 

यता जिल्लाका विभिन्न पालिकामा रथयात्रा निकाल्ने तयारी गरिएसँगै सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले भद्रपुर, बिर्तामोड र दमकमा जिल्लाबाट थप प्रहरी जनशक्ति पठाइएको उल्लेख गर्नुभयो ।

 

भगवान् श्रीकृष्ण जन्मिएको दिनको सम्मानमा सोमबार श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक यो पर्व मनाइएको थियो ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले सो दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूणर् मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको विश्वास गरिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको