दमक, ११ असोज /
दमकको मुटुको रुपमा परिचित दमक नगरपालिका वडा नम्बर ६, विकास र समृद्धिको नजरमा पनि नगरकै नमुना वडा बनेको छ ।
यहाँ हरेक टोल र गल्लिमा पक्की सडक बनिसकेका छन् । ड्रेनहरु धमाधम बनिरहेका छन् । आवश्यकीय ठाउँमा फूटपाथ निर्माण समेत धमाधम भइरहेको छ ।
अघिल्लो वर्ष यस वडामा भौतिक पूर्वाधारको क्षेत्रमा कहाँ कहाँ के के काम भए ?
१) गुरास मार्गको भित्री गल्ली सडक स्तरोन्नतिका लागि ३ लाख रुपैँयामा काम सम्पन्न
२) भृकुटी चोक उत्तर ७ लाख ९ हजार ६ सय ५२ रुपैँयाको बजेटमा फुटपाथ निर्माण
३) ७ लाख ३९ हजार ७ सय ४४ रुपैँयाको बजेटमा भगवान मार्गमा फुटपाथ निर्माण
४) फाल्गुनन्द चोक पश्चिम तर्फ पनि ११ लाख १५ हजारको बजेटमा फुटपाथ निर्माण
५) प्रस्तावित भीसी मार्गमा १ लाख ५० हजारको बजेटमा नाला निर्माण
६) ८ लाख रुपैँयाको बजेटमा वडाको व्यूटिफिकेसन निर्माण
७) श्री सत्य साई भवन निर्माणका लागि समेत २ लाख रुपैँया सहयोग
८) राधाकृष्ण टोलमा सडक बत्ति निर्माणमा २ लाख रुपैँयाको काम
भौतिक निर्माणको क्षेत्रमा वडाले गरिरहेको यसखाले प्रगतिका बारेमा वडा सदस्य कमल श्रेष्ठले जानकारी गराउनु भएको छ ।
यी त भौतिक तर्फका काम भए,
वडाले वडामा रहेका यूवा, महिला, अशक्त, जेष्ठ नागरिक, अपाङ्गता भएका तथा बालबालिका लक्षिततर्फका पनि निकै कार्यक्रम अघि बढाएको छ ।
सीपसंग जोड्न २५ जनालाई ब्यूटिसियन तथा पार्लरको तालिम, ७० वर्ष भन्दामाथिका ७० जना ज्येष्ठ नागरिकलाई सम्मान, ४० जना जेष्ठ नागरिकलाई तीर्थ भ्रमण, ३० जनालाई कौशी खेती गर्न त्यसको प्रवद्र्धन कार्यक्रम, १५ जनाको घरमै पुगेर सुत्केरी महिलालाई पोषणयुक्त खाना प्रदान गर्ने काम भएको छ । त्यसैगरी, आर्थिक विपन्नहरुलाई निःशुल्क स्वास्थ्य बीमाका साथै बालबालिका लक्षित बिभिन्नखाले कार्यक्रमहरु पनि यहाँ भएका छन् । यतिमात्रै नभएर म्याराथन, तेक्वान्दो तथा फुटबल खेलका खेलाडीहरुलाई खेलकुदका सामग्री पनि वडाले प्रदान गरेको छ ।
सामाजिक विकास अन्र्तगत वडाध्यक्षसंग बालबालिका कार्यक्रम, दुव्र्यसनी सम्बन्धिको सचेतना, बाल अधिकारसंग सम्बन्धित गरी १ सय ९८ जना बालबालिका लक्षित कार्यक्रम भएका छन् । साथै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति पनि यहाँबाट प्रदान गरिएको छ ।
यसैगरी, आर्थिक विपन्न ४२ परिवारलाई खाद्यान्न सहयोग, अपाङ्गता भएकाहरुको वडा सम्मको पहुँच कसरी बढाउने भन्नेबारेको कार्यक्रम पनि भएका छन् । वडामा रहेका टोल विकास सस्थाका प्रतिनिधि, विद्यालयका प्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागी गराएर दुव्र्यसनीको सचेतना कार्यक्रम गरिएको छ । साथै मृत्यू संस्कारमा भौतिक रुपमै सहभागी हँुदै विपन्न परिवारलाई केही आर्थिक सहयोग समेत लगेर वडाका जनप्रतिनिधि १२ परिवारमा पुगेका छन् । साथै कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विकास सम्बन्धीको तालिम पनि सञ्चालन गरिएको सहितका सन्दर्भमा वडा सदस्य वीना शाहले जानकारी गराउनु भयो ।
उसो त यहाँ शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि उल्लेख्य काम भएका नै छन् । खास गरेर एउटा पनि सामुदायिक विद्यालय नभएकोे यो वडामा बालकेन्द्र चाँही सञ्चालनमा रहेको छ । बालकेन्द्र सञ्चालनका लागि आवश्यक पर्ने श्रोत र साधनको प्रवन्ध तथा कर्मचारीको व्यवस्थापन भएको छ । अहिले बालकेन्द्रमा ४० जना विद्यार्थी रहेका छन् ।
स्वास्थ्यतर्फ यो वडाको प्रगति उल्लेख्य छ । यहाँ आफ्नै सुविधा सम्पन्न ल्याव स्थापना गरिएको निःशुल्क सेवा प्रदान गरिएको छ । स्वास्थ्य क्षेत्रका दक्ष प्राविधिकहरुको व्यवस्थापन गरिएको छ । मधुमेह रोगीहरुका लागि निःशुल्क शिविर सञ्चालन तथा औषधी समेत वितरण गर्ने गरिएको छ । विभिन्न खोपका कार्यक्रम वडामै सञ्चालन हुन्छ । दीर्घ रोगीहरुको तथ्यांक संकलन गरी रोग लाग्न नदिनेखाले सचेतनाका कार्यक्रम तय भएका छन् । निःशुल्क प्रसुति तथा गर्भवती परीक्षण पनि यहाँबाट गर्ने गरिन्छ । यतिमात्रै नभएर घर घरमै गएर ज्येष्ठ तथा अशक्तहरुका लागि विशेषज्ञ चिकित्सक सहितको टोलीमार्फत स्वास्थ्य परीक्षण र औषधी वितरण पनि हुने गरेको छ । अनि निःशुल्क परिवार नियोजनको सेवा पनि यहाँबाट उपलब्ध गराएर वडावासीलाई राहत प्रदान गर्ने अधिकतम् प्रयास गरिएको वडा सदस्य डेन्जिङ तामाङले उल्लेख गर्नुभयो ।
न्याय सम्पादनका बारेमा पनि यहाँ निकै कामहरु हुने गरेका छन् । यहाँ रहेको मेलमिलाप केन्द्रमार्फत दुई पक्षलाई राखेर छलफल गरी समस्याको छिनोफानो गर्दै न्यायको अनुभूति दिलाउने काममा पनि वडाको भूमिका सक्रिय बनाउँदै आएको अर्का वडा सदस्य कमला खातीको भनाई छ ।
वडालाई प्रविधिमैत्री बनाउने प्रयास स्वरुप नमुना बजार, नयाँ सब्जी बजार, बसपार्क, पशुपति मन्दिर तथा हनुमान मन्दिर क्षेत्रमा निःशुल्क वाई फाई जोन बनाइएको छ भने बिभिन्न ५ वटा चोकमा सीसी क्यामेरा राखेर वडाको निगरानी पनि गरेको पाइन्छ ।
साथै यहाँ २७१ जना अन्य ज्येष्ठ नागरिक, १६ जना दलित ज्येष्ठ, ४३ जना एकल ज्येष्ठ महिला, ६९ जना बिधुवा, १३ जना पूणर् अपाङ्गता, १४ जना अति अशक्त अपाङ्गतासाथै ४ जना दलित बालबालिका गरी ४ सय ३० जनालाई १ करोड ३९ लाख २१ हजार ३३२ रुपैँया बराबरको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
‘सीमित कर्मचारी संयन्त्रलाई चुस्त र प्रभावकारी बनाउँदै यी योजनाहरु प्रभावकारी रुपमै सम्पन्न गर्ने प्रयास गरेका छौं ।’- वडा सचिव प्रकाश घिमिरेले भन्नुभयो ।
भौगोलिक रुपमा पूणर् रुपमा शहरमा आधारित वडा हो यो । यहाँका अधिकांश नागरिकको आम्दानीको श्रोत व्यापार व्यवसाय नै हो । तर बजारलाई सुरक्षित राख्न र उपभोक्तामैत्री वातावरणसहित व्यवसायीको सुरक्षाका लागि पनि विभिन्न खाले कार्यक्रमहरु हुने गरेका छन् । बजार अनुगमनले उपभोक्ता र व्यापारीबीचको दुरीलाई घटाउने र राज्यबाट दुबै पक्षले पाउनु पर्ने सुविधाका लागि पहुँच विस्तार गराउने काम पनि हुने गरेका छन् । यद्यपि यो वडामा सिमित श्रोतबाट नागरिकका विकसित अनि आधुनिक असीतित आकांक्षालाई पुरा गर्ने प्रयास जारी छ ।
वडावासीले पनि वडाका गतिविधिले सहजता नै प्रदान भएको प्रतिक्रिया दिएका छन् ।
तीन तहको सरकारसंगको समन्यको अभाव, बहाल करको अभिलेखिकरण, तथ्यांक व्यवस्थापन यथार्तपरक निकाल्न केही कठिनाई भइरहेको छ । अझै पनि संघीयताको मर्म अनुसार वडा कार्यालयलाई ऐनप्रदत्त अधिकार प्रत्यायोजन नभएका कारण काम गर्न अप्ठ्यारो भइरहेको छ । साना तथा टुक्रे योजनाको माग अत्याधिक आउने कारणले योजना छनोटमा समस्या पनि देखिन्छ । केही केही घटना दर्तामा सच्याउनै नसकिने कानुनी अड्चन पनि वडाले समस्याको रुपमा झेलिरहेको वडाध्यक्ष टेकबहादुर थापाले उल्लेख गर्नुभयो । यतिमात्रै नभएर सामाजिक रुपमा पँुजी निर्माण हुने र रोजगार एवम् स्वरोजगारका अवसर बढ्ने प्रकृतिका कार्यक्रमको सञ्चालन अत्यन्तै न्यून भइरहेका छन् ।
समस्याहरुसँग जुध्दै वडाले अवसरका रुपमा धेरै काम गर्न सक्ने आधार पनि देखिन्छ । यहाँ राजनीतिक रुपमा पनि सहकार्य र नागरिक समर्थन, सहयोग र सुझाव मार्फत निरन्तर सुधारका काम गर्न सकिने छ ।