दमक, १४ असोज /
सडक मानवलाई सुरक्षित र व्यवस्थित गर्न दमकमा खोलिएको मानव उद्धार सेवा नामक संस्था अहिले आफैं असुरक्षित र बेवारिसे जस्तो बनेको छ ।
ढुकुरपानी जाने सडक खण्डस्थित वडा नम्बर २ को जिराइत खरखरेमा रहेको यो भवन वडा कार्यालय बसेको साविकको भवन हो ।
यहाँ सर्वसाधारणको पहँुच छ । यो दुई तले भवनको वरिपरी फलामको तारजालीले कम्पाउण्ड बारिएको छ । हेर्दा सुरक्षित लाग्छ ।
हो, यहाँ अन्य काम र गतिविधि गर्न सहज भएपनि सडक मानवलाई उद्धार गरेर व्यवस्थापन गर्न चाँहि जटिल र असुरक्षित छ ।
यहाँ पर्याप्त खुला ठाउँको अभावले विहान र साँझमा गराइने काम र कार्यक्रम यहाँ हुन सकेका छैनन् । एउटा मात्रै शौचालय हुँदा यहाँ राखिएका सडक मानव र अन्य प्रशासनिक व्यक्ति तथा आगन्तुकहरुलाई अप्ठ्यारो छ । अझ अर्को जटिल समस्या चाँहि यहाँको कम्पाउण्ड वाल हो । वाल कच्चा र होचो छ । जसले गर्दा वालबाट हामफालेर उद्धार गरेर ल्याइएकाहरु भाग्ने गरेका छन् ।
यस्ता समस्याकाबीच यो सस्था यहाँ सञ्चालन गरिरहनु परेको मानव उद्धार सेवाका केन्द्रीय अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
यो सस्था यहाँ चलाउने भन्ने कसैको पनि योजनै थिएन ।
दमक २ कै हंसेदुम्से सामुदायिक भवनमा पर्ने साविक कोभिड अस्पताल सञ्चालनमा रहेको भवनमा दमक नगरपालिका कार्यालयको स्वीकृतिमा सडक मानवहरुको उद्धार तथा व्यवस्थापन गर्ने योजना अनुरुप त्यहाँ काम थालिएको थियो । राज्यकै लगानीबाट निर्मित सो कोभिड अस्पताल भवन अहिले बेबारिसे छ ।
तर सामुदायिक वनले यहाँ यो संस्थालाई सडक मानव राख्न नदिने भनेर रोक लगायो । वनको क्षेत्राधिकार भएकोले वनसँग समन्वय नै नगरि एक्कासी एउटा संस्था आएर काम गर्न थालेकोप्रति वन समूहले असहमति जनाउँदै आएको थियो । बाहिरबाट आएको संस्थाहरुलाई वन क्षेत्रको कुनैपनि संरचना प्रयोग गर्न नपाउने नियम देखाउँदै त्यहाँ सञ्चालन गर्नै दिइएन । तर यस अघिनै दमक नगरपालिकाले आफ्नै तरिकाले सो भवनमा सडक मावनको उद्धार गर्ने र व्यवस्थापनको काम गर्ने भनेर निणर्य गरिसकेको थियो । सो निणर्य र सम्झौता बमोजिम काम गर्ने संस्था त्यहाँ जाँदा लखेटिनु परेको तीतो अनुभव सुनाउनु हुन्छ मानव उद्धार सेवा दमक समन्य समितिका अध्यक्ष रेवतराज भण्डारी ।
दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले यस अघि नगरपालिकाले त्यहाँ कोभिड अस्पतालको संरचनानै बनाएर सञ्चालन गर्दा वनले केही नभन्ने अहिले नगरपालिकाले नै लगानी गरेर बनाएको भवनमा सडक मानवको उद्धार गर्छु भन्दा रोक्ने र प्रतिवाद गर्ने काम वनबाट निन्दनीय रहेको बताउनु भयो । यद्यपि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भवनको प्रयोग गर्न दिने सम्बन्धमा आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाउनु भएको नगर प्रमुख थापाले बताउनु भयो ।
मानव सेवा आश्रम दमकमा हालसम्म २४ जनालाई उद्धार गरिएको छ । जसमध्ये ६ जना यहाँबाट भागेपछि यो संख्या अहिले १८ मा झरेको छ । बेसहारा अलपत्र अवस्थामा सडकबाट उद्धार गरिएको अवस्थामा पनि समस्या भइरहेको जानकारी पाएपछि उद्धार गरिएकाहरुलाई होटल व्यवसायी संघ दमक नगरले आइतबार केही खाद्यान्न सामग्री समेत प्रदान गरेको नगर अध्यक्ष योगराज दंगालले बताउनु भयो ।
सडक मानवहरुले होहल्ला गर्ने र भाग्ने समस्या भएका कारण गाउँको बीचमा यस्ता उद्धार केन्द्र राख्नु उपयुक्त देखिदैन । एकान्त ठाउँमै राखिनु पर्ने भएकाले पनि यो कार्यालय उपयुक्त ठाउँको खोजिमा छ । बेवारिस अवस्थामा रहेकाहरुको उद्धार गर्न स्थापित संस्था नै बेवारिसे बन्नु दुखद पक्ष मान्न सकिन्छ ।
https://youtu.be/GOVv332vvJI?si=0SnfJK8w35Zme_9_