कोलोम्बस- ओहायो, मंसिर २१
प्रतिष्ठित नेपाली लेखक रमेश दियालीले समाजमा जटिल परिस्थितिहरूका बीच जीवन यापन गरिरहेका पात्रहरूको कथा समेटेर ‘भुसकोे आगो’ उपन्यास प्रकाशित गर्नुभएको छ ।
दियालीको सो बहुप्रतिक्षित उपन्यासको डिसेम्बर २८ मा कोलोम्बस, ओहायोमा लोकार्पण कार्यक्रमको योजना बनाइएको छ । इन्डिगो इन्कद्वारा प्रकाशित ‘भुसकोे आगो’ केवल कथा मात्र नभएर समाजको ऐना हो, जसले मानव जीवनमा देखिने अफ्ठ्यारा अवस्थाहरू र तिनले ल्याउने असर /प्रभावलाई गहिरो रूपमा उजागर गरेको उपन्यासकार दियालीको कथन छ । उपन्यासले प्रेम, मोह, र जीवनका यथार्थ पक्षहरूको कलात्मक चित्रण गर्दै पाठकहरूलाई आत्मसमीक्षाको यात्रा तय गराउनेछ ।
सो उपन्यासले मरुभूमि जस्तो जीवन बाँचिरहेका आम मानिसहरूको दैनिक संघर्ष र तिनले भोगेका कठोर यथार्थहरूलाई उजागर गरेको छ । समाजमा हुने दुःखद घटनाहरू र पात्रहरूको भोगाइलाई आधार मानेर उपन्यासले सम्बन्ध र जीवनका विविध पक्षहरूको खोजी गरेको छ । पुस्तकले पाठकहरूलाई सम्बन्ध, मोह, र समाजमा देखिने यथार्थतामाथि गहिरो दृष्टिकोण दिनेछ । यस कृतिले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
लेखक दियालीले यस कृतिबाट जीवनका अनेकौँ रंगहरूको अभिव्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो “यो उपन्यासका पात्रहरूले पाठकहरूको मनमा गहिरो छाप छोड्नेछन् र पात्रहरूलाई सम्झिरहने प्रेरणा दिनेछन् होला भन्ने मलाई लाग्छ ।”
लोकार्पण कार्यक्रममा कला, साहित्य, र संस्कृतिसँग जोडिएका प्रतिष्ठित सर्जकहरूको उपस्थिति रहनेछ । कार्यक्रमले नेपाली साहित्यप्रेमीहरूलाई रमाइलो अनुभूति दिने अपेक्षा गरिएको छ ।
सो उपन्यास नेपालका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुने उल्लेख छ । नेपाल बाहिर रहेका पाठकहरूले यस पुस्तकलाई एमाजोन मार्फत सजिलै प्राप्त गर्न सक्नेछन् ।









