काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये ४ जनाको शव मात्रै पहिचान भएको छ । शवदाह गृह अगाडि भेटिएका आफन्त भन्छन्– ‘निकै पिडामा छौँ । सरकारले यथाशीघ्र हाम्रा मान्छेहरू भेटाइदिनुपर्यो ।’राजन कोइराला र उहाँकी श्रीमती भान्जी ज्वाइको खोजीमा हिजो देखिनै त्रिवि शिक्षण अस्पतालको शवदाह गृहमा हुनुन्छ । कोइराला भन्नु हुन्छ– ‘भित्र थुप्रिएका शवहरू पल्टाउँदै आफन्तको हुलिया खोज्दा भेटिनुभएन । कुहिएर, छाला उक्किएर र किरा परिसकेका ती शरीरहरूमध्ये एउटा शव आफ्नै भान्जीको हो कि भनेर छामी छामी हेर्नुपर्ने विवशता बन्यो । ’
नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरे स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर–६ बस्दै आँउनुका राजन कोइरालाका लागि गत दुई दिन जीवनकै सबैभन्दा पीडादायी रहउो। नुवाकोटको तुप्छे बजारस्थित साढे तीन तले घर पहिरोले पूरै पुरिँदा उहाँका नातेदारहरू एकाएक बेपत्ता हुनु भयो ।पहिरो आउने बित्तिकै सासू–ससुराले भाग भनेपछि भागेर ज्यान जोगाए पनि प्यारालाइसिस भएकी बुढी हजुरआमालाई बचाउन फेरि घरभित्र छिरेका कोइरालाकी कान्छी बहिनीकी २३ वर्षीया छोरी भान्जी रोनुका अर्याल, उहाँका पति र सासू–ससुरामध्ये बुहारी र छोरा पहिरोको चपेटामा पर्नु भयो ।
चार महिनाअघि मात्रै विवाह बन्धनमा बाँधिएकी भान्जी रोनुकासहित परिवारका सदस्य पहिरोमा पुरिएपछि काठमाडौँबाट सान्त्वना दिन नुवाकोटको बटारसम्म पुगेका कोइराला बाटो र पुल भत्किएका कारण बाटैमा रोकिन बाध्य हुनु भएको थियो ।यसैबिच धादिङको मजिमटार र देवघाटभन्दा तल एक युवतीको शव भेटिएको खबर आएपछि कोइराला परिवारलाई भान्जी भेटिने एउटा झिनो आशा जागेको थियो । लामो कपाल र नङ, सानो कम्मर, गलामा सिक्री भएकी र २०–२२ वर्षकी नवविवाहिता जस्तो देखिने युवतीको शवको हुलिया पाएपछि नेपाल प्रहरी हेडक्वाटर सञ्चारमा रहेका साथीको पहलमा नुवाकोट जिल्ला ट्राफिक र एम्बुलेन्ससँग समन्वय गरी उक्त शव काठमाडौँ ल्याइयो । भान्जीकै शव हुनसक्ने आसमा हिजो बेलुकीदेखि नै कोइराला दम्पती त्रिवि शिक्षण अस्पताल टिचिङ मा प्रतीक्षारत रहनु भएको थियो ।
आज कोइराला र उहाँकी पत्नी आफैँ अस्पतालको शव गृहभित्र छिरेर त्यहाँ राखिएका सबै शवहरू पल्टाएर हेर्नु भएको थियो। तर, दुई दिनको लामो र धैर्यतापूर्ण पर्खाइपछि पनि त्यो शव आफ्नी भान्जी रोनुकाको नभएको पुष्टि भयो ।चितवनतर्फ पनि फेला परेका शवहरूको डिस्प्ले भइरहे पनि त्यहाँ भान्जी भेटिने कुनै सम्भावना देखिएको छैन । अब डिएनए परीक्षणका लागि नमुना सुरक्षित राखेर पहिचान नभएका शवहरूको सामूहिक अन्त्येष्टि गर्ने तयारी भइरहेकाले अन्ततः भान्जीको माया मार्नुबाहेक अन्य कुनै विकल्प नरहेको कोइराला बताउँनु हुन्छ ।
अस्पतालभित्रको दृश्य शब्दमा वर्णन गर्न नसकिने गरी भयावह र दर्दनाक रहेको अनुभव कोइरालाले सुनाउनु भयो । विपत्तिको यति धेरै दिन बितिसक्दा शवहरू कुहिएका, छाला उक्किएका र किरा परिसकेका कारण अनुहार हेरेर चिन्न सक्ने अवस्था बिल्कुलै छैन । यस्तो स्थितिमा भित्र गएर आफन्त चिनिन्छ भन्ने आशा गर्नु व्यर्थ रहेको भन्दै उहाँ अरू पीडित आफन्तहरूलाई पनि भित्र गएर थप मानसिक र भावनात्मक पीडा नलिन आग्रह गर्नु हुन्छ । उहाँकी भान्जी मात्र होइन, ज्वाइँ सिजन अधिकारी पनि बेपत्ता हुनुन्छ।
आफ्नो तुप्छेस्थित घर छाडेर अझै पनि रेस्क्युको पर्खाइमा बसिरहनु भएको सासू–ससुरा र आफन्तहरूलाई सम्झाउनुको विकल्प उहाँसँग छैन । आजसम्म प्रयासपूर्वक खोजतलास गरिए पनि भोलिदेखि अन्य आफन्तहरूले पनि बेपत्ताहरू जीवितै वा चिन्न सकिने अवस्थामा भेटिने आशा छाड्नु नै उचित हुने निष्कर्षमा कोइराला पुग्नु भएको छ। आफ्नी कलिलो उमेरकी भान्जी र परिवारलाई गुमाउनुको बज्रपात सहँदै उहाँ भन्नु हुन्छ– ‘अब त भित्र गएर हेर्ने हिम्मत र आशा दुवै सकियो, केवल माया मार्नु नै अन्तिम सत्य बनेको छ ।’









