दमक, ९ बैशाख / आन्दोलनरत शिक्षकहरुले आफ्ना माग पुरा नभएसम्म कक्षा १२ को परीक्षामा आफूहरु सामेल नहुने बताइरहेको बेला राष्ट्रिय परीक्षा बोर्डले सो परीक्षा तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
यही बैशाख ११ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालनको मिति तय भएको अवस्थामा शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि आज बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय लिएको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जनाउनु भयो ।
शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघको आह्वानमा गत चैत २० गतेबाट शिक्षकहरु काठमाडौंको सडकमा आन्दोलनरत छन् । आन्दोलनरत शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडान राखेका छन् ।









