काठमाडौं,३१ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको विकासले पुँजीवादलाई थप बलियो बनाउँदै विश्वव्यापी श्रम शोषण बढाएको बताउनु भएको छ ।
आइतबार समाजवाद अध्ययन केन्द्र नेपालले आयोजना गरेको ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ राष्ट्रिय बहस कार्यक्रममा बोल्दै पोखरेलले सूचना क्रान्तिले नयाँ अर्थतन्त्र निर्माण गरे पनि त्यसले समाजमा असमानता बढाउने काम गरिरहेको बताउनु भयो ।
उहाँले सूचना प्रविधिको विकासले पुँजीवादलाई नयाँ ढङ्गले बलियो बनाएको उल्लेख गर्दै विश्वका धनाढ्य व्यक्तिहरूको ठूलो हिस्सा सूचना प्रविधि र व्यापारसँग सम्बन्धित रहेको बताउनु भयो ।
‘अहिलेको सूचना क्रान्तिले ल्याएको नयाँ अर्थतन्त्रले पुँजीवादलाई जवान बनाएको छ। सूचना प्रविधिको विकासले लेनिनले भनेको मरणासन्न पुँजीवाद जवान भएर विश्वव्यापी श्रम शोषण गर्ने अवस्थामा पुगेको छ,’ उहाँले भन्नु भयो ।
उहाँले विश्वका धनाढ्य व्यक्तिहरूमध्ये ठूलो हिस्सा सूचना प्रविधि र व्यापारसँग सम्बन्धित रहेको भन्दै यसले समाजमा असमानता बढाइरहेको बताउनु भयो ।
‘आज विश्वका धनाढ्यहरूमध्ये ५० प्रतिशत हिस्सा सूचना प्रविधि र व्यापारसँग सम्बन्धित छ। समाजमा असमानता ल्याउने काम सूचना प्रविधिले गरिरहेको छ,’ उहाँले भन्नु भयो ।
पोखरेलले तत्कालीन एमाले महासचिव मदन भण्डारीले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि जनताको बहुदलीय जनवादको विकास गरी नयाँ राजनीतिक बाटो अघि बढाएको बताउनु भयो ।
उहाँले जनताको बहुदलीय जनवादकै आधारमा तीन दशकसम्म नेपालको कम्युनिष्ट आन्दोलनलाई शीर्ष भूमिकामा राख्न सफल भएको दाबी गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘मदन भण्डारीले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि जनताको बहुदलीय जनवादको विकासद्वारा अगाडि बढ्ने नीति अख्तियार गर्नुभयो। हामी तीन दशक नेपालको कम्युनिष्ट आन्दोलनलाई शीर्ष भूमिकामा राख्न सफल भयौँ।’
पोखरेलले अहिले उत्पन्न चुनौतीलाई नयाँ ढङ्गले विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो। उहाँले वामपन्थी आन्दोलनले जनताको बहुदलीय जनवादको सार पक्षभन्दा रूप पक्षमा बढी जोड दिएको बताउनु भयो ।
उहाँले भन्न्ुा भयो, ‘जनताको बहुदलीय जनवादकै सन्दर्भमा कुरा गर्दा हामीले रूप पक्षमा ज्यादा जोड दियौँ। त्यसको सार पक्षलाई जुन रूपमा प्रसारण गर्नुपर्दथ्यो, हामी आफैँले पनि सार पक्षलाई जोड दिन सकेनौँ।’
नेपालको वामपन्थी आन्दोलनमा अधिकार र राजनीतिक विमर्शका विषयमा धेरै छलफल हुने गरे पनि अर्थराजनीतिक विषयमा पर्याप्त बहस हुन नसकेको उहाँको भनाइ छ ।
उहाँले भन्न्ुा भयो, ‘नेपालको वामपन्थी आन्दोलनभित्र अधिकारका कुरा ज्यादा हुन्छन्, राजनीतिक विमर्शको कुरा ज्यादा हुने गर्दछ। तर राजनीतिको आधारको रूपमा रहेको अर्थराजनीतिको सन्दर्भमा हामी सीमित मानिसहरू मात्र छलफल गर्दछौँ। आम सचेतना चाहिँ अर्थराजनीतिक प्रश्नमा नेपालको वामपन्थी आन्दोलनमा अत्यन्तै कमजोर छ ।’
उहाँले बदलिँदो विश्व परिवेश र प्रविधिको विकाससँगै वामपन्थी आन्दोलनले आफ्ना नीति, कार्यक्रम र राजनीतिक दृष्टिकोणको पुनर्विश्लेषण गर्नुपर्नेमा जोड दिनु भयो ।









