दमक, २२ असोज । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले झापाको दमकमा पार्टीको नगर तथा १० वटै वडा समितिमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ। दमक उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार सम्पन्न भेलाले २९ वर्षीय सुनिल राईको नेतृत्वमा नगर कार्यसमिति चयन गरेसँगै कांग्रेस दमकमा पुस्तान्तरणको स्पष्ट सङ्केत देखिएको छ।
राईको नेतृत्वमा चयन भएको नगर कार्यसमितिको उपसभापतिमा अमित खड्का र सान्ता अधिकारी, सचिवमा सन्दिप राई तथा सहसचिवमा अनिश बस्नेत र सुवास राई चयन हुनुभएको छ।
नगर समिति सदस्यमा छितिज ढुंगाना, रामकिसन साह, दीपक तिरुवा, सर्वज्ञ कन्दङ्वा, साजन राई, दुर्गा धिमाल, आसा राई, मानदेव राई, नेपबहादुर दर्जी, रोजिना गुरुङ र अन्जना चौहान नेपाल चयन हुनुभएको छ।
१० वटै वडामा युवा र अनुभवी नेतृत्व
भेलाले दमकका १० वटै वडा समितिको नेतृत्वसमेत सर्वसम्मत चयन गरेको छ। जसअनुसार वडा नं. १ को सभापतिमा पासाङ तामाङ, २ मा दिप मगर, ३ मा केदारसिंह अधिकारी, ४ मा भीमराज कार्की र ५ मा ऋद्धि बद्री खड्का चयन हुनुभएको छ।
त्यसैगरी वडा नं. ६ मा नारायणप्रसाद भट्टराई, ७ मा राजेश रनपहेली, ८ मा राजन राई, ९ मा साजन राई र १० मा यामबहादुर विष्टले वडा समितिको नेतृत्व सम्हाल्ने भएका छन्।
वडा नेतृत्वमा अनुभवी नेतासँगै युवा पुस्ताको समेत उपस्थिति देखिएको छ। यसले दमक कांग्रेसमा लामो समयदेखि देखिँदै आएको पुस्तागत नेतृत्वको संरचनामा परिवर्तनको सङ्केत गरेको सहभागीहरूको भनाइ छ।
अनुभवी नेतासँगै युवा पुस्ताको हस्तक्षेप
नयाँ नेतृत्व चयनका लागि आयोजित भेलामा झापा क्षेत्र नं. ५ का पुराना तथा अनुभवी नेतादेखि युवा तथा विद्यार्थी नेतासम्मको उल्लेख्य सहभागिता थियो।
भेलामा पूर्व सांसद महिन्द्रकुमारी लिम्बु, डा. खगेन्द्र पाण्डव अधिकारी, घनेन्द्र योङ्या, दिलबहादुर बुढाथोकी, वीरेन्द्र पोख्रेल, लता चापागाईं, गोमा बुढाथोकी, राजेन्द्र प्रसाई, राजु न्यौपाने र जङ्गबहादुर थापालगायतका नेताहरूको उपस्थिति थियो।
त्यसैगरी युवा नेताहरू द्रोण दाहाल, सुनिल हताचो, विशाल अधिकारी र रोवर्ट रनपहेलीसहित स्ववियु सदस्यहरू सर्वज्ञ कन्दाङ्वा, सुदिप साम्बाहाम्फे र सुमितकुमार तामाङलगायत युवा विद्यार्थी नेताहरूको सक्रिय सहभागिता रहेको थियो।
पार्टीको नेतृत्व तहमा युवा पुस्ताको बढ्दो सहभागितालाई सहभागीहरूले कांग्रेसभित्र बदलिँदो राजनीतिक पुस्ताको सङ्केतका रूपमा व्याख्या गरेका छन्। विशेषगरी २९ वर्षीय सुनिल राई नगर सभापतिमा चयन हुनुले दमक कांग्रेसमा युवा नेतृत्वको हस्तक्षेप औपचारिक रूपमा स्थापित भएको सन्देश दिएको छ।
देउवा पक्षको प्रभाव कि पुस्तान्तरणको अभ्यास?
नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको विषयलाई लिएर आन्तरिक राजनीतिक ध्रुवीकरण भइरहेका बेला दमकमा भएको यो नेतृत्व चयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भेलाबाट नगरदेखि वडासम्म सर्वसम्मत नेतृत्व चयन हुनु र नेतृत्वको अग्रपङ्क्तिमा युवा पुस्ताको उपस्थिति बढ्नुले स्थानीय कांग्रेसको संगठनात्मक संरचनामा नयाँ समीकरणको संकेतसमेत गरेको छ।
विशेषगरी २९ वर्षीय राईलाई नगर सभापतिको जिम्मेवारी दिइनुले कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउने अभ्यास अघि बढाएको सन्देश दिएको छ। यसलाई आगामी दिनमा पार्टीको स्थानीय संगठन, नेतृत्व हस्तान्तरण र राजनीतिक प्रतिस्पर्धामा महत्वपूर्ण प्रभाव पार्न सक्ने रूपमा समेत हेरिएको छ।









