माङसेबुङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गाउँपालिकाको वडा नम्बर २ बाट बिहीबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो ।
सबैभन्दा पहिले गाउँपालिका अध्यक्ष हेमन्त राईलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो ।
यसअघि जिल्ला प्रशासन कार्यालय इलाममार्फत राष्ट्रिय परिचयपत्र वितरण गरिँदै आएको थियो । तर पछिल्लो समय गाउँगाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।
वडा नम्बर २ बाट तीन दिनसम्म राष्ट्रिय परिचयपत्र वितरण गरिने जनाइएको छ ।
बिहीबारदेखि वितरण सुरु गरिएको परिचयपत्रका लागि २०७८ सालमा सोही वडाबाट विवरण संकलन गरिएको थियो ।
राष्ट्रिय परिचयपत्र लिनका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्ने जनाइएको छ ।









