दमक,१७ कार्तीक । झापाको दमकमा मौलिक कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘नेपाल आदिवासी जनजाति साँस्कृतिक महोत्सव २०८३’ भव्य रूपमा आयोजना हुने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ दमक नगर समन्वय परिषद्को प्रमुख आयोजना एवम् दमक नगरपालिकाको सह–आयोजनामा भोली कात्तिक १८ गतेदेखि मंसिर २ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो। महोत्सव दमक नगरपालिका वडा नं. ७ स्थित सयपत्री टोल (स्वास्थ्य कार्यालय नजिक) आयोजना गरिनेछ।
महोत्सवको पहिलो दिन कात्तिक १८ गते बिहान ठिक ११ः०० बजे दमक चोक स्थित आकाशे पुलको उत्तरतर्फ भेला भई मौलिक कला–संस्कृति झल्किने विविध झाँकी सहितको भव्य र्याली निकालिनेछ। उक्त र्याली महोत्सव स्थलमा पुगेपछि दिउँसो १२ः०० देखि १२ः३० बजेभित्र मञ्चमा औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ।उद्घाटन समारोहमा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा प्रमुख अतिथिका रूपमा रहनुहुनेछ भने विशिष्ट अतिथिमा उपप्रमुख रेगिना भट्टराई प्रसाईँ तथा इलाका प्रहरी कार्यालय दमकको डिएसपीको विशेष उपस्थिति रहनेछ।
महोत्सवको प्रमुख आकर्षणको रूपमा बालबालिका तथा युवा वर्गका लागि विशेष फनपार्क र खेल संरचनाहरू तयार पारिएको छ। यसअन्तर्गतःरोटेपिङ, डुङ्गा पिङ , आकर्षक आइफेल टावरको नमूना संरचना रहेको छ।
यसका साथै दैनिक रूपमा राष्ट्रिय स्तरका गायक–गायिकाहरूको साङ्गीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहनेछ। आदिवासी जनजातिको लोक नृत्य प्रतियोगिताका साथै हरेक दिन पालैपालो एक–एक वटा जनजातिको मौलिक संस्कार र संस्कृति पहिचान झल्किने विशेष क्रियाकलाप प्रस्तुत गरिनेछ।
महोत्सवमा आदिवासी जनजातिहरूको ज्ञान, सीप र कलाबाट निर्मित परम्परागत सामग्रीहरू, नमूना घर, जातीय पेशा, बाजागाजा, गहना, परम्परागत भेषभूषा, पूर्वको प्रसिद्ध किराँत ढाका र स्थानीय कृषिजन्य उत्पादनका आकर्षक प्रदर्शनी तथा बिक्री कक्ष (स्टल) हरू रहनेछन्।दमकमा यसअघि वि.सं. २०६८ सालमा पहिलोपटक आदिवासी जनजाति साँस्कृतिक महोत्सव आयोजना गरिएको थियो। त्यसपछि २०८१÷८२ मा पनि यसको निरन्तरता रह्यो। विगतका संस्करणहरूमा देखिएका कमी–कमजोरीहरूलाई पूर्ण रूपमा सुधार्दै यसपटक २०८३ सालको महोत्सवलाई अझ व्यवस्थित र भव्य बनाइने आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता जनाएको छ। साथै, यस महोत्सवबाट संकलित आम्दानी आदिवासी जनजाति संग्रहालयको स्तरोन्नति र हितका लागि खर्च गरिनेछ। आदिवासी जनजाती माहासङघका अध्यक्ष अम्बर बाहादुर कुमालका अनुसार एयटा जाती बराबर ज्यष्ठ अविभावकलाई सम्मान र्कायक्रम रहेको छ।
दमकमा बसोबास गर्ने अल्पसंख्यक सीमान्तकृत धिमाल सहित विभिन्न २० भन्दा बढी सूचीकृत आदिवासी जनजातिहरूको भाषा, लिपि, संस्कार, संस्कृति, रहनसहन तथा मौलिक खानपानको प्रवद्र्धन गर्ने यसको मूल लक्ष्य हो। १५ दिने महोत्सव अवधिभर १ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ, जसले समग्र पूर्व क्षेत्रको व्यापार व्यवसाय विस्तार र पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।










